
हेटाैँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।
भवानी माध्यमिक विद्यालयको खेल मैदानमा दुई दिन सञ्चालन हुने प्रतियोगितामा ६ वटा माध्यामिक विद्यालयका विद्यार्थी सहभागी छन् । समितिका संयोजक मोहन वाईवा र पालिका अध्यक्ष लोकबहादुर मोक्तानले बुधबार प्रतियोगिताको उद्घाटन गरेका थिए । सो क्रममा अध्यक्ष मोक्तानले ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ पहिलोपटक खेलकुद विकास समितिमार्फत प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
विगतमा विद्यालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिता ऐनमा उल्लेख भए बमोजिम यसवर्ष देखि भने समितिमार्फत प्रतियोगिता गरिएको अध्यक्ष मोक्तानले बताए । ‘गत वर्ष कैलाशले जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण एक, रजत तीन र कास्य दुईवटा पदक जित्न सफल भएका थियौं,’ उनले भने, ‘यसवर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा गतवर्षभन्दा राम्रो प्रदर्शन गर्नुपर्छ ।’
उनले खेललाई मर्यादित र अनुशासित भएर खेल्न आग्रह गर्दै भौगोलिक विकटता रहेको कैलाशलाई शिक्षा र खेलकुद क्षेत्रको विकासमा वृद्धि गर्दै लगिरहेको बताए । उनले यसैवर्षदेखि कैलाशको कालिका माविलाई एसइइ परीक्षाको केन्द्र समेत तोकेको जानकारी दिए । कैलाशका विद्यार्थीले हेटौँडा, थाहा, मनहरी लगायतका क्षेत्रमा गएर परीक्षा दिनुपर्ने वाध्यता हटेको बताउँदै अब कालिका माविमा विद्यार्थीले सहज वातावरणमा परीक्षा दिन सकिने बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्लले विद्यालयबाटै खेलकुलको विकास गर्न सके राष्ट्रिय खेलाडी तयार हुन सहज हुने बताए ।
प्रतियोगितामा भलिबल, मार्सल आर्ट र एथ्लेटिक्स गरी तीन विधाका खेल खेलाइनेछ । एथ्लेटिक्समा एक सय, दुई सय, चार सय र आठ सय मिटरको दौड, हाइजम्प, लङजम्प, सर्टफुटलगायत अन्य खेल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्