
हेटौँडा । पहिलो सहभागितामै बागमती गोल्डकपको उपाधि जित्दै चर्च ब्वाइज युनाइटेडले इतिहास रचेको छ । छैटौं संस्करणसम्म प्रतियोगितामा सहभागिता नजनाएको चर्च ब्वाइजले सातौं संस्करणको पहिलो सहमागितामै उपाधि उचालेको हो ।
सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक बिजेता मछिन्द्र क्लबलाई १–० गोलले निराश बनाउँदै चर्च ब्वाइजले उपाधि उचाल्यो । चर्च ब्वाइजलाई उपाधि दिलाउने क्रममा समिर तामाङ नायक बने । उनले खेलको ४७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलको म्यान अफ द म्याच गोलकर्ता तामाङ नै घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरेको खेलमा थप गोल हुन नसक्दा खेल चर्च ब्वाइजले १–० ले जितेको हो । यसअघि चर्च ब्वाइजले विभागीय टोली एपिएफ र मछिन्द्रले थ्री स्टारलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
चर्च ब्वाइजले उपाधिसँगै पायो १० लाख
उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको साविक विजेता मछिन्द्रले पाँच लाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले नगद एक लाख एक हजार १०१ रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मछिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समिर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । बिधागत उत्कृष्ट सबैले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिता आयोजक गाउँपालिका खेलकुद विकास समितिले गाउँपालिकाको खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान पुयाएको भन्दै रेडियो झुरझुरेका स्टेसन म्यानेजर विवेक सिंतानलाई १५ हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्