हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा आज बुधबारबाट पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता र उपाध्यक्ष बालकुमार मल्लको विशेष आतिथ्यतामा प्रतियोगिता गरिएको थियो ।

वडा नम्बर ९ नामटारमा अवस्थित खेलमैदानमा भएको उद्घाटन खेल वडा नम्बर वडा नम्बर १ र ७ बीच भएको थियो । खेलमा वडा ७ ले २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको पाँच मिनेटमा वडा ७ का सन्तोष मुक्तानले पहिलो गोल गरेका थिए । दोस्रो हाफको १९ औँ मिनेटमा सागर चेपाङले एक गोल थप गरेका थिए । वडा १ को तर्फबाट भने शिशिर नेगीले थप गरेको २ मिनेट(२५+२) मा एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच वडा ७ का सागर चेपाङ घोषित भए । उनलाई गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ट्रफि प्रदान गरेका थिए ।

आजै भएको दोस्रो खेलमा वडा ४ पेलान्टी सुट आउटबाट विजयी भएको छ । निर्धारित समयमा १–१ गोल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेको थियो । सुट आउटमा वडा ४ ले ५ गोल गरेको थियो भने वडा २ ले ४ गोल गरेको समितिका सदस्य रवीन्द्र थिङले बताए । उक्त खेलको म्यान अफ द म्याच वडा ४ का गोलरक्षक सबल प्रजा घोषित भए ।

नकआउट चरणमा खेलाईएको खेलमा विहीबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा १० र ६ बीच हुनेछ भने दोस्रो खेल वडा ५ र ३ बीच हुने आयोजकले जनाएको छ । तेस्रो खेल वडा ७ र ९ बीच र चौथो खेल वडा ४ र ८ बीच हुने समितिका संयोजक मोहन वाईवाले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा ३ का अध्यक्ष देवलाल बल, वडा ७ का अध्यक्ष उदास कुमार भोलन, वडा ९ का अध्यक्ष भुवन घलान लगायतको अतिथ्यता रहेको थियो ।

Visited 20 times, 1 visit(s) today