हेटाैँडा । युवामा रहेको सिर्जनात्मक क्षमता र उद्यमशील सोचलाई मूर्तरूप दिन प्रदेश युवा परिषद् बागमती र मकवानपुर बहुमुखी क्याम्पसको सहकार्यमा ‘विशिष्ट युवा प्रतिभा पहिचान’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ। युवा स्टार्टअपहरूलाई आवश्यक परामर्श, वित्तीय सहायता, प्रविधि तथा पूर्वाधारको पहुँच उपलब्ध गराउने लक्ष्यसहित उक्त कार्यक्रम सुरु गरिएको हो।

उक्त कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा यम सिलवाल र प्रदेश युवा परिषद् बागमतीका उपाध्यक्ष सन्तोष चौलागाईंबीच मंगलबार समझदारीपत्र आदान–प्रदान गरिएको छ।

समझदारीपत्र आदान–प्रदान कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त पौडेल, क्याम्पसका निवर्तमान अध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे, स्ववियू सभापति प्रसिद्ध रेग्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत नवप्रवर्तनशील सोचलाई व्यवसायमा रूपान्तरण गर्दै उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। विभिन्न चरणमा छनोट गरिने युवा नवप्रवर्तकहरूलाई स्टार्टअप इन्क्यूबेटरमार्फत सहजीकरण गरिनुका साथै व्यवसायिक तालिम, नेतृत्व विकास, लगानी व्यवस्थापन र डिजिटल मार्केटिङसम्बन्धी ज्ञान प्रदान गरिने मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा सिलवालले बताए।

स्टार्टअपहरूको पहिचान गरी तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग तथा पूर्वाधार उपलब्ध गराइने आयोजक संस्थाहरूले जनाएका छन्। लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गर्दै युवा व्यवसायीहरूलाई वित्तीय स्रोत जुटाउन सहायता पुर्‍याउने योजना बनाइएको छ। साथै, स्टार्टअप एक्सपो, इनोभेशन समिट तथा उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ।

परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार देशको आर्थिक वृद्धिमा योगदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले नवीन सोचलाई व्यावसायिक सफलता दिलाउने मात्र नभई स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न मद्दत गर्नेछ। साथै, प्रतिभावान् युवाहरूलाई स्वदेशमै अवसर प्रदान गर्दै ब्रेनड्रेन न्यूनीकरणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रमअन्तर्गत नवप्रवर्तक तथा स्टार्टअपहरूलाई वित्तीय सहायता र लगानीको व्यवस्थापन गर्न विभिन्न उपायहरू अपनाइने छन्। प्रतिस्पर्धी रूपमा अनुदान वा बीउ पुँजी उपलब्ध गराइने छ।

Visited 12 times, 1 visit(s) today