
हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौँडा– ६ स्थित गौरीटार रंगशालामा निर्माण भएको फुटबल मैदानको उद्घाटन गरेका छन् । मैदानको उद्घाटन गरेपछि मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकास र व्यवस्थापनमा सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित गरेर सरकारको आयआर्जनमा जोड्ने गरी सञ्चालनको व्यवस्था गर्नुपर्ने बताए।
सरकारले खेलकुद क्षेत्रबाट पनि राजस्व संकलन गर्ने गरी संरचनाहरूको व्यवस्थापनमा अघि बढेको उनले बताए। उनका अनुसार खेलाडीहरूको प्रत्साहन र विकासमा सरकारले नयाँ ढंगका कार्यक्रम अघि बढाउने तयारी गरेको छ । कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद विकासमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनमा जोडेर अघि बढाउनुपर्ने बताए।
खेल पर्यटनको माध्यमबाट अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा समेट्ने सक्ने भएकाले प्रदेश सरकार त्यसतर्फ अग्रसर हुनुपर्ने उनले बताए। साहसिक खेलहरूको सम्भाव्यता अध्ययन गरेर पूर्वाधार निर्माणमा जोड दिन सके पर्यटकहरूको आगमन र बसाइको दर पनि बढाउन सक्ने उनको भनाइ छ। २०७४ बाट प्रदेश सरकारअन्तर्गत रहेर काम हुँदै आएको उक्त रंगशालाको पछिल्लो समय निर्माणका काम व्यवस्थित गरी उद्घाटन गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले बताए । अघिल्लो कार्यकालमा मैदान तयार भए पनि पूर्वाधार निर्माणको काममा केही कमजोरी सुधार गर्नुपरेको उनले बताए।
हाल रंगशालाको रनिङ ट्रयाक, मैदान, प्याराफिटमा कुर्सी जडान तथा पर्खाल निर्माण गर्नका लागि २० करोड ४६ लाख ७४ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्कामार्फत काम गरिएको उनले बताए। साबिकको सार्वजनिक निर्माण कार्यान्वयन इकाइ गजुरी धादिङबाट गौरीटारको फुटबल मैदानको उक्त योजना कार्यान्वयनका लागि २०७८ वैशाख १४ गते १३ करोड ३८ लाख ६५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनले बताए।
निर्माण कम्पनीले ०८१ पुस २९ मा काम सम्पन्न गर्नुपर्ने गरी काम अघि बढाउकाे रंगशालाको प्याराफिटमा दुई हजार चार सय थान कुर्सी जडान गरिएको छ भने रनिङ ट्राकमा बेस कोर्स र १०५.६८ मिटरको खेलमैदानमा पानी निकासको स्वचालित सिस्टम जडान गरिएको उनको भनाइ छ। नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्