हेटौँडा । मकवानपुरको थाहा नगरपालिका र बकैया गाउँपालिकाले बजेट ल्याएको छ । दुबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गरेपश्चात सोमवार बजेट ल्याएको हो । जिल्लाको दश स्थानीयतह मध्ये यसअघि आठ पालिकाले निर्धारित समय असार १० गते नै आगामी आर्थिक वर्षको बजेट ल्याएका थिए । यसअघि हेटौँडा उपमहानगरपालिकासहित बागमती, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, कैलाश, राक्सिराङ र मनहरीले बजेट ल्याउँदा थाहा नगरपालिका र बकैया गाउँपालिकाले एक सातापछि मात्रै ल्याउने ल्याएका हुन् ।
बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमवार एघारौँ गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले आर्थिक वर्ष ०८२-८३ को लागि प्रस्तुत गरेकोे बजेट चालु आवको तुलनामा एक करोड ८७ लाख ४९ हजार कम रकमको बजेट प्रस्तुत गरे । बकैयाले चालु आर्थिक वर्षका लागि ९३ करोड ५९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष ०८२-८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैया रहने प्रक्षेपण गरिएको छ ।
विनियोजित बजेट मध्ये पूँजीगत खर्च तर्फ २८ करोड ६ लाख ९१ हजार, चालु तर्फ ६३ करोड ६५ लाख ५९ हजार बजेट बिनियोजन गरिएको छ । त्यस्तै नेपाल सरकारबाट सशर्त अनुदान ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ९५ लाख ५० हजार सहित जम्मा ३९ करोड ६३ लाख ५० हजार प्राप्त रकमलाई खर्च गरिने उल्लेख छ ।
पूर्वाधार निर्माण गर्न ५ करोड, पोषणमैत्री स्थानीयतह घोषणा गर्न ७५ लाख, चिस्याकेन्द्र निर्माण गर्न ६५ लाख, हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडामा ४० लाखका दरले ४ करोड ८० लाख तथा कार्यपालिका सदस्यहरुलाई ८ लाखको दरले ४८ लाख सहित ५ करोड २८ लाख बजेट बिनियोजन गरिएको छ । कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड, कृषि औद्योगिक ग्रामको भौतिक संरचना निर्माणका लागि २ करोड ५० लाख, कोल्ड स्टोर निर्माण गर्न अनुदानसहित एक करोड ३० लाख बजेट बिनियोजन गरिएको छ । पालिकाले ल्याएको बजेटमा कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको हो । गाउँसभामा पालिका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रसाशकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायतकाको उपस्थिती रहेको थियो ।
त्यस्तै थाहा नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि ९० करोड ३० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमवार भएको नगरपालिकाको १८ औँ नगर सभामा नगर उपप्रमुख भरत गोपालीले आर्थिक वर्ष ०८२-८३ को लागि बजेट प्रस्तुत गरे । थाहा नगरपालिकाले चालु आर्थिक वर्षका लागि ९८ करोड बजेट प्रस्तुत गरेकोमा आगामी आवका लागि बिनियोजन गरिएको बजेट घटेर आएको छ ।
विनियोजित बजेटमध्य चालू खर्चमा ६० प्रतिशत र पूँजीगत खर्चमा ४० प्रतिशत विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड ३९ लाख, समपूरक अनुदान ४९ लाख, विशेष अनुदान २ करोड, सशर्त अनुदान ३१ करोड ६६ लाख, राजस्व बाँडफाँड १० करोड ७० लाख ७ हजार ६ सय ८४, रोयल्टी १ करोड १९ लाख १४ हजार ४ सय ३५ जम्मागरि ५८ करोड ४३ लाख २२ हजार १ सय १९ रहेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड २५ लाख ८६ हजार, समपूरक अनुदान २ करोड ८८ लाख, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान २ करोड ४० लाख २१ हजारर राजस्व बाँडफाँड ५ करोड ७८ लाख ३१ हजार ९९ गरी जम्मा १३ करोड ६ लाख ३८ हजार ९९ रहेको छ । नगरपालिकाको आन्तरिक आयतर्फ राजस्व (कर तथा गैरकर) १६ करोड ८० लाख ३९ हजार ७ सय ८२ र मालपोत २ करोड,गरी जम्मा १८ करोड ८० लाख ३९हजार ७ सय ८२ आम्दानी हुने अनुमान गरिएको छ ।
नगरपालिकाले कृषि तर्फ २ करोड ९२ लाख, पशु विकासका लागि ७३ लाख, स्वास्थ्य सेवाका लागि ८ करोड ९२ लाख ९५ हजार, शिक्षा तथा खेलकुदका लागि २७ करोड १८ लाख, सुशासन कार्यालय सञ्चालन तथा प्रशासन सुधारका लागि १८ लाख, महिला, बालबालिका अपाङ्ग तथा ज्यष्ठ नागरिकका लागि ३३ करोड २४ लाख बजेट बिनियोजन गरिएको छ । पूर्वाधार विकासका लागि एक करोड ५० लाख, सामाजिक विकासका लागि ७० लाख, विपद् व्यवस्थापनका लागि ८० लाख रुपियाँ बजेट बिनियोजन गरिएको छ । थाहा नगरपालिकाले ल्याएको बजेटमा कृषि, पूर्वाधार, खानेपानी र पर्यटनलाई प्राथमिकता दिइएको छ ।
यसअघि मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ९० करोड, कैलाश गाउँपालिकाले ५३ करोड ८६ लाख २० हजार, राक्सिराङ गाउँपालिकाले ६३ करोड ५२ लाख ३१ हजार, बागमती गाउँपालिकाकाले ८३ करोड ७२ लाख ६७ हजार, मनहरी गाउँपालिकाले ८७ करोड ७२ लाख ३९ हजार, मकवानपुरगढी गाउँपालिकाले ७४ करोड पाँच लाख ८४ हजार, भीमफेदी गाउँपालिकाले ९० करोड ६ लाख, इन्द्रसरोवर गाउँपालिकाले ४१ करोड ७२ लाख रुपैयाँ बजेट ल्याइसकेको छ ।












प्रतिक्रिया दिनुहोस्