हेटाैँडा । बागमती प्रदेश सरकारको करिब ४७ करोड लागतमा दुई वर्षअघि स्थापना गरेको धुलो दुध कारखाना सञ्चालनको मोडालिटी अझै बन्न सकेको छैन । प्रदेश दुग्ध विकास बोर्डले सञ्चालनको कार्ययोजना तथा मोडालिटी तय गर्न नसक्दा करिब डेढ वर्षयता कारखाना परीक्षणका रूपमा मात्रै सञ्चालन हुँदै आएको छ ।
०७७ मा निर्माण सुरु भई ०८० मंसिरबाट परीक्षण उत्पादन गरेको उद्योग कार्यविधि नबन्दा आधिकारिक रूपमा सञ्चालन हुन नसकेको हो । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उद्योग सञ्चालनको कार्यविधि तयार गर्न सकेको छैन ।
विगत डेढ वर्षदेखि दुग्ध विकास संस्थान (डिडिसी)ले परीक्षणका रूपमा कारखाना सञ्चालन गर्दै आएको छ । यद्यपि, डिडिसीलाई कारखाना सञ्चालन गर्न दिने विषयमा मन्त्रालय र बोर्डले कुनै औपचारिक निर्णय गरेका छैनन् । सामान्य लिखित सहमतिका भरमा काम भइरहेको कर्मचारीहरू बताउँछन् । कारखाना सञ्चालनका लागि कार्यविधि निर्माणको काम अन्तिम तयारीमा पुगेको प्रदेश दुग्ध विकास बोर्ड, हेटौँडाका निर्देशक डा. रामप्रकाश श्रेष्ठको भनाइ छ । हाल कारखाना डिडिसीले परीक्षण सञ्चालन गरिरहेको भए पनि कारखानामा केही संरचना थप गरेर प्रतिस्पर्धाका आधारमा विभिन्न संघ–संस्थालाई भाडामा दिने प्रदेश दुग्ध विकास बोर्ड, हेटौँडाका निर्देशक डा. रामप्रकाश श्रेष्ठले बताए ।
‘कारखाना सञ्चालन गर्न कसलाई दिने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । प्रतिस्पर्धात्मक आधारमा कारखाना भाडामा दिने हाम्रो तयारी हो,’ उनले भने, ‘झन्डै आधा अर्ब लगानीमा बनेको यो कारखानाको सञ्चालन कार्यविधि नबन्दा सबैतिर आलोचना भएको छ । कारखाना चलाउन चाहने संस्थालाई लिजमा दिनका लागि गत वर्ष अध्ययन भइसकेको छ, अब ढिला हुँदैन । कार्यविधि अन्तिम चरणमा पुगेको छ ।’
नयाँ पत्रिकाबाट











प्रतिक्रिया दिनुहोस्