हेटाैँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हेटौँडामा हुने एन्फा प्रेसिडेन्ट लिग आगामी कात्तिक १९ गतेदेखि सुरु हुने भएको छ। हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालामा मंसिर ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरका १० टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने जनाएको छ। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार देशका सातै प्रदेशका जिल्ला लिग च्याम्पियन बनेका क्लबहरू प्रतियोगितामा सहभागी हुनेछन्।
उनका अनुसार प्रतियोगितामा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काँक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृति क्लब (बारा), विजय स्पोर्टस् क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाथली (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब (कास्की) गरी १० टिम सहभागी हुनेछन्।
प्रवक्ता शाहका अनुसार लिग चरणको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने चार टोलीले आगामी राष्ट्रिय लिगका लागि छनोट हुने अवसर पाउनेछन्। प्रतियोगितामा सहभागी प्रत्येक क्लबले ‘ए’ डिभिजन क्लबका तीन र राष्ट्रिय टिमका दुई गरी पाँचजना खेलाडी दर्ता गर्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा कुनै पनि टोलीले विदेशी खेलाडी समावेश गर्न पाउनेछैनन्।
शाहका अनुसार प्रतियोगिताको विजेता टोलीले १० लाख तथा दोस्रो हुनेले ५ लाख प्राप्त गर्नेछ। त्यस्तै, फेयर प्ले टिम र मोस्ट भ्यालुएबल टिमले ५० हजार तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई २५–२५ हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ।
एन्फाले प्रतियोगितामा सहभागी क्लबहरूलाई तयारीका लागि प्रतिटिम ७ लाखका दरले सहयोग रकम उपलब्ध गराएको छ। प्रतियोगिताको कुल अनुमानित बजेट एक करोड ५४ लाख ५४ हजार रहेको प्रवक्ता शाहले जानकारी दिए।
एन्फा मकवानपुर जिल्ला फुटबल संघ प्रतियोगिताको स्थानीय आयोजकका रूपमा रहनेछ। गौरीटार रंगशालामा हुने यस लिगमार्फत स्थानीय फुटबल प्रतिभा राष्ट्रिय फुटबलमा स्थापित हुन सक्ने अपेक्षा गरिएको एन्फाले जनाएको छ। नयाँ पत्रिकाबाट












प्रतिक्रिया दिनुहोस्