हेटौँडा । हेटौँडा बजार क्षेत्रको राजमार्ग विस्तारको क्रममा ५ सयभन्दा बढी संरचना भत्काएपछि सडक विस्तारको काम सर्वोच्च अदालतको उत्प्रेषण (स्टे) आदेशले तत्काल रोकिएको छ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको २५-२५ गज सडक सीमा खाली गर्ने अभियान अन्तर्गत डोजर चलेको दुई दिनमै सडक विस्तार रोकिएको हो । सर्वोच्च अदालतले शुक्रबार जारी गरेको आदेश आइतबार दिउँसो १२:४६ बजे सडक डिभिजन कार्यालय हेटौँडामा तामेल भएपछि संरचना भत्काउने सम्पूर्ण कार्य स्थगित भएको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार बाटो विस्तार कानुनी प्रक्रिया अनुसारै भए पनि अदालतको आदेश आएपछि डोजर चलाउन अघि बढाउन नपाइने स्पष्ट भएको छ । १५ दिने अल्टिमेटम सकिएपछि सडक डिभिजनले शनिबार बिहान ५ बजेदेखि सडक सीमा भित्रका घर–टहरा हटाउन सुरु गरेको थियो ।
राप्ती रोड, बुद्धचोक, मेनरोड, रातोमाटे, पिपलबोट हुँदै चौकीटोल ओरालोसम्म १२ घण्टासम्म चलिरहेको डोजर अभियानमा १० वटा भारी मेसिन र करिब ५ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यस क्षेत्रमा पर्ने अधिकांश घरका ढोका, झ्याल, सटर र माथिल्लो भाग भत्काइएका संरचनाहरु पूर्ण रूपमा नहटाए पनि ५ सयभन्दा बढी घर–टहरा क्षतिग्रस्त बनिसकेका छन् ।
डिभिजनका अनुसार उपमहानगरपालिका क्षेत्रभित्रका ५३१ संरचनामध्ये ५ सयभन्दा बढी भत्काइएका छनन । करिब १०–१५ संरचना घरधनी स्वयंले हटाएका थिए भने करिब २१ संरचना चौकीटोल क्षेत्रमा अझै बाँकी छन्।
सडक विस्तार रोकिए पनि आइतबार चौकीटोल क्षेत्रमा केही घरधनीले संरचना स्वयं हटाउन सुरु गरेका छन् । सडक सीमाभित्र परेका भौतिक संरचना ढिलाइ नगरी हटाउनुपर्ने नागरिक दबाबसँगै स्थानीय आफैँ जुटेका हुन् ।












प्रतिक्रिया दिनुहोस्