हेटाैँडा । मकवानपुर प्रहरीले थाहा नगरपालिका–१०, टौखेलबाट १२१ किलो लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाहा नगरपालिका–४, रुप्सेका २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका–५ का २१ वर्षीय सानुकान्छा थिङ रहेका छन्।

प्रहरीले उनीहरूले चरेस ओसारपसारमा प्रयोग गरेको अटोलाई पनि नियन्त्रणमा लिएका छन्। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बाप्र०३–००१ ह १५०७ नम्बरको अटोबाट प्लास्टिकका डिब्बाभित्र लुकाएर ल्याइएको १२१ किलो ४६६ ग्राम चरेस बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी पुष्कर बोगटीका अनुसार अटोभित्र १२ वटा प्लास्टिकका डिब्बामा लुकाएर चरेस ओसारपसार गरिएको अवस्थामा दुईजनालाई नियन्त्रणमा लिइएको हो। दुवैजनालाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको उनले बताए।