हेटौंडा । “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२” को अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा कार्यालयको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप सबैले क्षेत्रबाट सोही बमोजिमको कार्यसम्पादन हुन सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उल्लेख गरे ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोद भट्टराईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा सबैले हातेमालो गर्नु पर्ने उल्लेख गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका सिडिई मोहदत्त भट्टले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनिकरण एवम् सुशासन प्रवर्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे जानकारी गराएका थिए । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी गराउँदै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उल्लेख गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख (सह–सचिव) नरहरि घिमिरेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश प्रमुखको कार्यालयका सचिव, मुख्यमन्त्रीको कार्यालय, बागमती प्रदेशका सचिव, बागमती प्रदेश अन्तर्गतगका विभिन्न मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारी, उच्च सरकारी वकिल कार्यालय, हेटौंडाका सहन्याधिवक्ता, प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख, बागमती प्रदेश अन्तर्गतका विभिन्न निर्देशनालायका प्रमुखहरु, सिटिजन जुरीका अध्यक्ष, पत्रकारहरु समेतको सहभागितामा कार्यक्रम भएको सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले जानकारी दिए ।