हेटौंडा । ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा सहकारी संस्थाबाट गरिने ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सरोकारवाला र सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजना तथा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रम प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले सहकारी संघ संस्थाहरु नीति, बिधि र प्रविधिमा आधारित भई सञ्चालन हुनुपर्नेमा जोड दिए । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालले सहकारी दिवसको अवसरमा महासंघले निर्धारण गरेको “सहकारीमा सुशासन प्रविधि र एकीकरण” भन्ने नारालाई सार्थक बनाउन सम्पूर्ण सहकारी संघ संस्थाहरुको जिम्मेवारी भएको बताए ।

त्यस्तै बागमती प्रदेश सहकारी रजिष्ट्रार रोहित पोखरेलले सहकारीका सदस्यहरु गम्भिर र ईमान्दार भए सहकारीमा समस्या नआउने बताए । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारी दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुका साथै अन्तरक्रिया कार्यक्रमले सहकारीमा उत्पन्न समस्याको समाधान गर्ने उपाय निस्कने बताईन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले राखेका जिज्ञाशाको सरोकारवालाहरुको तर्फबाट मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, मालपोत कार्यालयका अधिकृत भिम परियार, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका कानून अधिकृत मनोज गुप्ता, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला कृषि सहकारी संघ मकवानपुरकी उपाध्यक्ष रेखा खतिवडा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सञ्चालक ईन्द्रप्रसाद खतिवडाले जवाफ दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रमको मध्यस्तता सञ्चारकर्मी सुरेश श्रेष्ठले गरेका थिए ।

हरेक बर्ष झैं यसबर्ष पनि “सहकारीमा सुशासन: प्रविधि र एकीकरण” भन्ने नाराका साथ विविध कार्यक्रम सहित सहकारी दिवस सप्ताहब्यापी रुपमा मनाईदै छ । राष्ट्रिय सहकारी दिवसकै अवसरमा चैत्र १६ गते देखि १९ गतेसम्म सहकारी संघ संस्थाहरुले सहकारी दिवस लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, २० गते बिहान ७ः०० बजे हेटौंडा १ चौकीटोलको रोपवे चौरबाट प्रभातफेरी सुरु भई रोयल प्यालेस हेटौंडामा प्रवचन, पुरस्कार तथा सम्मान वितरण गरिने र साँझ बागमती प्रदेश भरका सहकारी संघ संस्थाहरुले दिपावली गरी सहकारी दिवस मनाउने मूल समारोह समितिका कार्यालय सचिव गोबिन्द दहालले बताए ।

राज कुमार के.सी.
थप जानकारी