DCIM101MEDIADJI_0984.JPG

हेटौँडा । बागमती प्रदेशका काठमाण्डौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक बर्ष २०८१÷८२ को चार महिनाको अवधिमा ४६६ बैंकिङ कसूर र वित्तीय अपराधका घटना भएको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८÷७९ मा ५६३ भएकोमा आव २०७९÷८० मा बृद्धि भइ ९०४ पुगेको थियो भने गत आवमा एकहजार ३३४ पुगेको छ । पछिल्लो तीन आवको तथ्याङ्क हेर्दा चालु आवको साउनदेखि कार्तिकसम्म आपराधिक घट्ना बढेको तथ्याङ्कले देखाउँछ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको कार्तिकसम्म ज्यान सम्बन्धित ३४९, आत्महत्या सम्बन्धित २८५, चोरी सम्बन्धित १५४, सामाजिक अपराध सम्बन्धित २८९, सवारी सम्बन्धित ९२ र अन्य १४४ अपराधसँग सम्बन्धित घटना घटेका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार मुद्दा दर्ता तथा अपराधमा बढोत्तरी भएको छ । आव ७८÷७९ को अनुपातमा ७९÷८० मा ६.२२ प्रतिशत र आव २०७९÷८० को अनुपातमा २०८०÷८१ मा ५.१८ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको तथ्याङ्क छ । आव २०७८÷७९ मा चारहजार ४०५ मुद्दा दर्ता भएकोमा आव ७९÷८० मा बढेर चारहजार ६७९ पुगेको थियो भने आव २०८०÷८१ मा पाँचहजार १९७ मुद्दा दर्ता भएको छ । प्रहरीको तथ्याङ्क अनुसार चालु आवको कार्तिक मसान्त सम्म एकहजार ७७९ मुद्दा दर्ता भएको छ । अघिल्ला आवको तुलनामा यसआवको चारमहिनामा दर्ता भएको मुद्दा तुलनात्मक हिसावले धेरै रहेको छ ।

त्यस्तै चालु आवको कार्तिक मसान्त सम्म १५४ लागूऔषध, २८ कर्तव्य ज्यान, ८१ जबरजस्ती करणी, ५ मानव बेचबिखन तथा ओसार पसार, ३ अपहरण तथा शरीर बन्धक, ३२ डाँका र अन्य ७ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

त्यस्तै महिला तथा बालबालिका विरुद्धको अपराध पनि बढ्दै गएको छ । चालु आवको कार्तिक मसान्त सम्म ८१ वटा जबरजस्ती करणी, ८ बहुविवाह, ९ जबरजस्ती करणी उद्योग र ४ वटा मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित अपराधका घटना भएका छन् ।

अनिल पराजुली
थप जानकारी