चश्मा दिए पुरस्कार आँखा दुखाउनेले
दिन्छन् सधैं तिरस्कार नाता टुटाउनेले

तिर्दैछु आफू पैसा टाउको लुकाउनलाई
थप्छन् तला प्रतिसाल भाडा उठाउनेले

कस्को छ के भरोसा नेपालको सीमामा
मोजा छोडेर जान्छन् जुत्ता लुकाउनेले

देख्नै हुँदैन सग्लो जङ्गल भरीको रूख
सौन्दर्य बिर्सी दिन्छन् नाफा कमाउनेले

हल्लाउछ पात मात्रै सक्दैन ढाल्न बोट
थापेर च्याँखे कुर्छन् हावा डुलाउनेले

शाश्वत ढुंगाना 'गोविन्द'
थप जानकारी