हेटौँडा । स्थानीय स्तरमा खेर जाने केराको खम्बाबाट निकालिएको रेसाबाट नेपाली हाते कागज उत्पादन गरी मकवानपुरगढीका एक युवाले करिब छ लाख रुपियाँ आम्दानी गर्न सफल भएका छन्।
मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडाका प्रेमबहादुर तिमल्सिनाले विगत दुई वर्षदेखि हाते कागज उत्पादन गर्दै आएका छन्। उनले पहिलो वर्ष तीन लाख र दोस्रो वर्ष पनि तीन लाखभन्दा बढी आम्दानी गरेकाे बताए ।
“दुई वर्षको अवधिमा करिब छ लाखभन्दा बढीको कागज बिक्री गरेँ, अहिले कागजको माग धेरै आएको छ, उत्पादन गर्न भ्याइनभ्याई भएको छ,” तिमल्सिनाले भने । उनका अनुसार कागज उत्पादन कार्यमा आमा र श्रीमतीले समेत सहयोग गर्दै आएका छन् ।
करिब आठ लाख रुपियाँ लगानीमा उद्योग दर्ता गरी सञ्चालनमा ल्याउनुभएका तिमल्सिनाले केराको बोटबाट रेसासँगै झोल मल र ठोस मलसमेत उत्पादन गर्दै आएका छन्। गत वर्ष उत्पादन गरिएको कागज गाउँपालिकाले कार्यालय प्रयोजनका लागि खरिद गरेको थियो । यस वर्ष पनि माग आएको उनले जानकारी दिए। “बजारको अभाव छैन, यहाँ उत्पादन भएको कागज हेटौँडा बजारमा धूप बनाउन प्रयोग गर्ने व्यवसायीहरूले खरिद गर्ने गर्नुभएको छ,” उनले भने ।
सामान्यतया एउटा केराको बोटबाट करिब आधा किलो फाइबर निस्कने र त्यसबाट करिब २५ वटासम्म कागज उत्पादन गर्न सकिने उनले बताए। हाल दैनिक पातलो र बाक्लो गरी करिब दुई सय थान कागज उत्पादन भइरहेको छ । कागजको माग बढ्दै गएपछि कच्चा पदार्थको आवश्यकता पनि बढेकाले गाउँमै रहेको बाँझो जमिनमा व्यावसायिक केरा खेती गर्ने योजना बनाएको तिमल्सिनाले बताए।
सात वर्ष वैदेशिक रोजगारीका लागि साउदी अरबमा बसेर फर्किएका ३६ वर्षीय तिमल्सिनाले गाउँमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गरेका छन । उनले सरकारले युवा उद्यमीलाई थप प्रोत्साहन दिए यस्ता कार्यमा अझै उत्साह थपिने धारणा व्यक्त गरे ।












प्रतिक्रिया दिनुहोस्