हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । आइतबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो ।

आइतबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई ४–० गोलले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको जितमा जिलेस्पी जंग कार्कीले खेलको पहिलो हाफको २६ औं मिनेटमा, रास बुढा मगरले दोस्रो हाफको ८ औं, फत्तेमान घलले १८ औं मिनेटमा र कमल थापाले ३० औं मिनेटमा समान एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घले घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

सेमिफाइनल प्रवेश गरेको आर्मीले अब फाइनल प्रवेशका लागि मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि एपीएफसहित मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।