हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा पहिलोपटक खुला राष्ट्रिय पुरुष हेटौँडा रन हुने भएको छ। प्रतियोगिता हेटौँडा उपमहानगरपालिकाअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको हो।

१८ फागुनमा आयोजना हुने प्रतियोगिता यसअघिका वर्षहरूमा जिल्ला प्रतियोगिताको रूपमा गरिँदै आएको थियो। यस वर्षबाट भने प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीको सहभागिताको लागि राष्ट्रियस्तरमा आयोजना गर्न लागिएको नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेले जानकारी दिए।

हेटौँडाको बुद्धचोकबाट सुरु हुने प्रतियोगिता हेटौँडा–५ पिप्ले पुगेर पुनः बुद्धचोकमा आई ५ किलोमिटर लामो दौड पूरा हुने अध्यक्ष घिमिरेले बताए। उनका अनुसार हेटौँडा रनमा १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ६० हजार, ५० हजार र ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनुका साथै दुईजनालाई प्रोत्साहनस्वरूप नगद १०-१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष घिमिरेको भनाइ छ।

प्रतियोगितामा सहभागी हुन चाहनेले फागुन १८ गते बिहान प्रतियोगिता सुरु हुनुअघि ६ः४५ बजेसम्म नाम दर्ता गराउन सक्ने उपमहानगरपालिकाको खेलकुद शाखाका प्रमुख वसन्त सिटौलाले जानकारी दिए। करिब ४ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा १०० जनाको सहभागिता रहने अनुमान गरिएको छ।