हेटौंडा । हेटौंडा–४, हुप्रचौरमा शनिवारदेखि अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले उद्घाटन गरे । शनिबार भएको उद्घाटन खेलमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट हेटौंडा र नेशनल इन्फोटेक कलेज पर्साले विजयी सुरुवात गरेको छ ।

म्यानेजमेन्टले सिटी कलेज हेटौंडालाई सात विकेट र इन्फोटेकले सिमरा कलेज वीरगञ्जलाई ३६ रनले पराजित गरेको हो । सिटी कलेजले पहिला व्याटिङ गर्दै २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११३ रन बनाएको थियो । म्यानेजमेन्टले १५ ओभरमा तीन विकेट गुमाएर उक्त योगफल फेला पार्दै २ अंक जोड्न सफल भयो । म्यानेजमेन्टका युविन बुढाथोकी ६२ रन बनाउँदै म्यान अफ दी म्याच घोषित भए । दोस्रो खेलमा निर्धारित २० ओभर व्याटिङ गर्दै वीरगञ्जले नौ विकेट गुमाएर कुल ११८ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको सिमरा १९ ओभरमा दश विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो । खेलमा वीरगञ्जका मन्थन यादब म्यान अफ दी म्याच घोषित भए ।

हेटौँडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फागुन २९ गतेसम्म सञ्चालन हुने छ ।

हेटौंडा जेसीजको आयोजनामा भएको प्रतियोगितामा गृह जिल्लासहित बारा, पर्सा र चितवनका क्याम्पसहरुले सहभागिता जनाएको हेटौँडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो । चारदिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई पनि जनही पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।