हेटौंडा । चैत २४ गतेबाट हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा मेयर कप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नगर खेलकुद विकास समितिको समन्वयमा मेयर कप फुटवल हुन लागेको हो । प्रतियोगितामा नगरको १९ वटा वडा सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले एकलाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय हुने टीमलाई नगद ५० हजार प्रदान गरिने छ । प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय टोलीमा सहभागी भइसकेका खेलाडीले खेल्न पाउने छैनन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई दशहजार रुपैयाँ नगदसहित सम्मानित गरिने भएको छ । प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही नगद ५/५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।