हेटौंडा । हेटौंडामा पहिलो पटक १६ वर्ष मुनिका साइकल चालकबीच भएको प्रतियोगितामा आयुस दास प्रथम भए । २६ साइकल चालकलाइ पछि पार्दै प्रथम भएका दासले पौने तीन किलोमिटरको दुरी ५ मिनेट २७ सेकेन्डमा पार गरे ।

हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा शनिवार विहान हेटौंडा–४ हुप्रचौर परिसरमा भएको प्रतियोगितामा ५ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै अनमोल दास द्वितिय, ५ मिनेट ४७ सेकेन्डमा रिजन फुँयाल तृतिय भए । त्यस्तै प्रतियोगितामा ५ मिनेट ४८ सेकेन्डमा दुरी पार गर्दै बरुण श्रेष्ठ चौथो, ५ मिनेट ४९ सेकेन्डमा सोहन अग्रवाल पाँचौँ भए । प्रतियोगितामा साईष्टु घिमिरे र गरिमा गौतमलाई महिला सहभागिताका लागि प्रमाण पत्र प्रदान गर्दै हौसला प्रदान गरिएको थियो ।

प्रतियोगिताका बिजेता प्रथमले ५ हजार रुपैयाँ, द्वितियले ३ हजार रुपैयाँ र तृतियले २ हजार रुपैयाँ नगद पाए । नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरेले विजयीहरुलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरे ।

प्रतियोगितामा मकवानपुरभित्र स्थायी बसोबास गर्ने, १० वर्षदेखि १६ वर्ष उमेरसमूहका बालबालिका सहभागि भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुर उपाध्यक्ष राजु थापाले जानकारी दिए । स्वास्थ्य र पर्यावरणका लागि साइकल प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

सोसाइटीले संयोजन गरेर रसुवागढी (तिब्बतको केरुङ नाका) देखि पर्साको ठोरी नाकासम्म १० जनाले उत्तरदक्षिण साइकलयात्रा, १३ जनाको सहमागितामा मेचि–महाकाली साइकलयात्रा सम्पन्न गरिसकेको छ । सोसाइटीले हरेक वर्ष कोरा च्यालेन्ज, हरेक शनिबार फन राइड (साइकलयात्रा) गर्दै आएको छ । सोसाइटीको स्थापना भएको ३ वर्ष भएको छ । गोरखापत्रबाट