हेटौंडा । मकवानपुरको हेटौंडा–५ क्याम्पाडाँडा रंगशालामा जारी फुटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि भोली आईतवार मकवानपुर र ललितपुर बिच भिड्न्त हुने भएको छ ।

दिउँसो फाइनल खेल हुने खेल संयोजक कल्पना शर्माले बताइन् । त्यस्तै चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलमा धादिङ र चितवन सेमिफाइनल प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा टस जितेर ब्याटिङ राजेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउदैं १८१ रन बनाएको थियो ।

धादिङले रनको लक्ष्य पुग्न १९ ओभरमा ६ विकेट गुमाउदैं १८३ रन बनाइ सेमिफाइनल यात्रा तय गरेको छ । सोमबार हुने सेमिफाइनलमा धादिङले काभ्रेसँग खेल्नेछ ।

त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले १० विकेट गुमाउदैं १९.५ ओभरमा २१७ रन बनाएको थियो । नुवाकोटले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो । चितवन १०४ रनले विजयी भएको छ । विजयी सँगै भोली मकवानपुरसँग सेमिफाइनल खेल खेल्ने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । आइतबार दुई सेमिफाइनल खेल हुनेछ । पहिलो खेल मकवानपुर र चितवन तथा दोस्रो खेल काभ्रे र धादिङबीच हुने क्षेत्रीले बताए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।

काठमाडौंमा भोलीबाट एथलेटिक्स प्रतियोगिता हुनेछ । खेलको लागि सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक आरके विष्टले बताए । खेल दशरथ रंगशालामा हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।