हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको शुक्रबार १० औँ गाउँसभा भएको छ । गाउँपालिकाको वडा नम्बर ८ स्थित बुढिचौरमा आयोजित गाउँसभाले चालु आव २०८०/०८१ को बजेटमा केही संशोधन गर्दै पारित गरेको छ ।

चालु आवका बजेको केही शीर्षकमा चार करोड २६ लाख ३६ हजार बजेट कटौती तथा केही शीर्षकका बजेट थपसहित गाउँसभाबाट पारित गरिएको जनाइएको छ । चालु आवका लागि गाउँसभाले ७२ करोड ८२ लाख २ हजार ४६९ रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । सोही अनुरुप केही बजेट अपुग रहने भएकाले गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीनले सभामा प्रस्तुत गरेको बजेट संशोधन प्रस्ताव पारित भएको हो । गाउँपालिकाले पुस मसान्त सम्म ४३ दशमलव ३ प्रतिशत आय गर्न सफल भएको छ भने २५ दशमलव १८ प्रतिशत खर्च गरेको सभामा जनाइएको छ ।

गाउँसभामा अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक संशोधन गर्न पालिकाको पूर्वाधार विकास समितिका संयोजक एंव वडा नम्बर २ अध्यक्ष बखानसिं पाख्रीनले पेश गर्नुभएको प्रस्तावलाई अर्थ समितिका संयोजक एवं वडा नम्बर ६ का अध्यक्ष कृष्णप्रसाद बजगाईले सर्मथन गरेपश्चात प्रस्तावहरु पारित भएको हो ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको गाउँसभामा पालिकाको वडा नं १ का अध्यक्ष आइतसिं लो, २ नं.का अध्यक्ष बखानसिं पाख्रीन, ३ नं.का अध्यक्ष भागवत घिमीरे, ४ नं.का अध्यक्ष अर्जुन तिमल्सिना, ५ नं.का अध्यक्ष दिपेश दाहाल, ६ नं का अध्यक्ष कृष्णप्रसाद बजगाईं, ७ नं का अध्यक्ष सूर्यबहादुर रुम्बा र ८ नं.का अध्यक्ष कुमारसिं योञ्जनको उपस्थिती थियो । यस्तै, कार्यपालिका सदस्य, वडा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की लगायतको सहभागितातामा गाउँसभा संचालन भएको हो ।