हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले एक घर एक धारा कार्यक्रम संचालन गरेपछि यहाँका ४३ घरधुरी लाभान्वित भएका छन् ।
बकैया गाउँपालिका वडा नं. ११ को भुलुन टोल र कालिदमारमा पालिकाको नीति तथा कार्यक्रम अन्र्तगत एक घर एक धारा कार्यक्रम संचालन भएपछि यहाँका स्थानीय लाभान्वित भएका हुन् । गाउँपालिका र सप्रुस नेपालको सहयोगमा प्रत्येक घर घरमा खानेपानीको लाइन बिस्तार गरिएको हो ।
वाद्रे खोलाको सिमानामा रहेको पानीको मुहानबाट खानेपानीको व्यवस्था मिलाइएको बकैया गाउँपालिका वडा नं. ११ का वडाअध्यक्ष गोपाल बहादुर नेसुरले जानकारी दिए । भुलुन टोल खानेपानी आयोजना निर्माण गाउँपालिकाको ४ लाख रुपियाँ र सप्रुस नेपालको १२ लाख लगानीमा बनेको हो । तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा पिउने पानी लिनका लागि करिव एक घण्टा सम्म धाउनुपर्ने बाध्यता थियो । खानेपानीको धारा नहुँदा हिउँद तथा बर्षामा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । घर घरमा धारा आएपछि अहिले यहाँका स्थानीयवासी खुसी भएको अध्यक्ष नेसुरले जानकारी दिए ।
खानेपानी आयोजना संरक्षणका लागि मासिक तलब दिनेगरि हेरालु समेत राखिएको छ । करिव तीन महिना लगाएर ४३ वटा खानेपानीको धारा निर्माण गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्