हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सभाको बैठक तत्काल राख्न माग गरेको छ ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले नागरिक महँगी, विपतलगायतका समस्याबाट गुज्रिरहेका समयमा नागरिकका आवाज उठाउनुपर्ने प्रदेश सञ्चालन नगरेको प्रति आपत्ति जनाउँदै एमाले संसदीय दलले तत्काल बैठक राख्न माग गरेका हुन ।

एमाले बागमती प्रदेश संसदीय दलले आइतबार संसदीय दलको कार्यालय, हेटौंडामा पत्रकार सम्मेलन गरी जनताका प्रतिनिधि प्रदेश सभा सदस्यहरू जनताका आवाज बोल्न चाहन्छन् । तर सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन नसकेको जनाएको छ । एमाले संसदीय दलका नेता थपलियाले नागरिक दैनिक समस्यामा परिरहँदासमेत सरकार बेखबर बनेको बताए ।

सरकारले गर्नुपर्ने धेरै कामहरू छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरू थप्ने राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित रहेको बताउँँदै उनले प्रदेश सभालाई बिजनेस दिन नसकेको बताए । सङ्घीयताका बारेमा शङ्का उत्पन्न भएको तथा चौतर्फी प्रहार भइरहेको वर्तमान अवस्थामा सङ्घीयता काम लाग्दैन भन्ने प्रमाणित गर्ने खालका गतिविधिमा सरकार लागेको आरोप लगाउँदै एमाले संसदीय दलका नेता थपलियाले नागरिकका समस्या प्रदेश सभामा छलफल गर्ने वातावरण तयार गर्न माग गरे ।
गोरखापत्रबाट