हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ को वडा कार्यालयमा तोडफोड भएको छ ।
स्थानीय सेवाग्राहीले वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै स्थानीय युवाहरुले तोडफोड गरेका हुन् । उनीहरुले वडा अध्यक्षको कुर्सी सडकमा ल्याएर फालेका छन् ।
स्थानीय युवाले अध्यक्षविरुद्ध आन्दोलन गरेसँगै एमाले निकट युवा प्रतिवादमा उभिएका छन् । वडा अध्यक्ष एमालेबाट निर्वाचित हुन् । लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन् ।
पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुनः दोहो¥याउन दाउमा छन् । उनी अहिले आफू निकटका कार्यकर्ताको निर्देशन अनुसार चलिरहेको आरोप छ ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता राज कुमार सापकोटाले प्रहरी घटना स्थलमा पुगेर घटनाको विषयमा जानकारी लिने क्रममा प्रदर्शनमा सहभागीले सेवाग्राहीको काममा ढिलाई गरेकोले प्रदर्शन गरिएको जानकारी आएको बताए । उनले घटनाको आवश्यक थप अनुसन्धान भईरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्