हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सोमबार कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुखदुखमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गर्न सकेमात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताए ।

‘स्थानीय निर्वाचन नजिकिएको छ । हामी जनताको घर आँगनमा पुग्न सकेका छौँ कि छैनौँ रु, म राम्रो उम्मेदवार हुँ मैले जितिहाल्छु भनेर बसेर हुँदैन है, जनताको बीचमा पुग्न सक्नुपर्छ । उनीहरुको अवस्था कस्तो छ रु, जनहितमा पार्टीले के गर्न सक्छ रु, जनताको हामीप्रति असन्तुष्टिहरु छन् कि रु कांग्रेसले सुधार्नुपर्ने पो केही छ कि रु यी सबै विषयमा गम्भीर हुनु आवश्यक छ ।’ सिंहले भने । उनले सरकारले निर्वाचनको मिति तय गरिसकेको अवस्थामा पनि केहीमा अझै चुनाव हुँदैन कि भन्ने शंका देखिएकोले दोधारमा नपर्न आग्रह गरे ।

‘सरकारले निर्वाचनको मिति तोकिसकेको छ, निश्पक्ष ढंगबाट निर्वाचन गराउन सरकार तयारी अवस्थामा छ । तर, केही मानिसहरुमा निर्वाचन तोकिएको समयमा नहुने हो कि भन्ने शंका रहेको पनि देखियो । तोकिएकै मितिमा निर्वाचन हुने, म विश्वास दिलाउन चाहान्छु । हामी विधि र प्रक्रिया अनुसार चल्ने पार्टी हौँ, चुनाव हुन्छ ।’

उनले चुनावी गठबन्धनको विषयमा भने विभिन्न स्तरबाट केन्द्रीय सम्पादन समितिले सुझाव संकलन गरिरहेको र सोही आधारमा एउटा निश्कर्षमा पुगिने स्पष्ट पारे । ‘धेरै सुझावहरु आएका छन्, कसैले निर्वाचनमा एक्लै जानुपर्छ भन्नुभएको छ, केहीले गठबन्धन नगरी हुँदैन भन्नुभएको छ । पार्टीको आन्तरिक सुझाव अनुसार नै अघि बढ्ने हो । गठबन्धन हुने नहुने वा आवश्यकता अनुसार हुने भन्ने विषय केही दिनभित्रै केन्द्रीय कार्यसम्पादन समितिले टुंगोमा पुर्याउँछ । सिंहले भने ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति कांग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताए । उनले कांग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको बताउँदै कांग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताए ।

आन्तरिक विवादहरुलाई मिलाउँदै, सबैको सुखदुखमा सरिक हुँदै सबैको विचार भावनाको सम्मान गर्दै कांग्रेस अघि बढ्ने बानियाँले प्रष्ट पारे । कांग्रेसको संगठनलाई अझै चुस्त दुरुस्त बनाउने सन्दर्भमा प्रदेश कार्यसमितिले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।