हेटौंडा । राष्ट्रिय, अन्तराष्ट्रिय ऐन, कानून, सन्धि÷सम्झौताको पूर्ण कार्यान्वयन गर्दै परिवारदेखी सरकारसम्म सबै जिम्मेवार भएमात्र महिला र किशोरी विरुद्धको हिंसा अन्त्य हुने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

हेटौंडामा आईतबार आयोजित महिला र किशोरी विरुद्ध हुने हिंसा अन्त्य गर्न प्रेषण प्रणाली तथा मार्गको सुदृढीकरण सम्बन्धि क्षेत्रीय कार्यशालाका वक्ता तथा सहभागीहरुले यस्तो बताएका हुन् । एक्सन एड नेपालको आर्थिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका र मकवानपुर महिला समूहको समन्वयमा नगर स्तरीय महिला जागरण समूह, हेटौंडाले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले महिला विरुद्ध हुने हिंसा अन्त्य गर्न सूचना प्रणाली र गोपनियता व्यवस्थापन तथा प्रभावित महिलालाई सुरक्षा र सुविधा दिन नेपाल सरकारले जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।

बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामीले परिवारमै अभिभावकले गर्ने विभेदपूर्ण व्यवहारले महिला हिंसालाई प्रश्रय दिएको भन्दै बढी हिंसा हुने गरिब र कमजोर महिलाको सशक्तिकरण गर्नुपर्नेमा जोड दिए । प्रदेश सांसद मुनु सिग्देलले धार्मिक र सामाजिक संस्कारको नाममा महिला हिंसा भईरहेको भन्दै महिनावारी छुवाछूत बार्ने जस्ता हिंसाको विरुद्धमा तीन तहको सरकारसँगै सबै सरोकारवाला उत्रनुपर्ने बताईन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, चितवनको माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी महतो, पर्साको पटेर्वा सुगौली गाउँपालिकाकी उपप्रमुख ममता महतो, एक्सन एड् नेपालकी महिला अधिकार विशेषज्ञ निशा लामा कार्की, मकवानपुर महिला समूह अध्यक्ष कमला सुबेदी लगायतले महिला हिंसालाई सानो भनेर सहन नहुने भन्दै महिला हिंसा अन्त्य गर्न सरकारी, गैरसरकारी निकाय तथा तीनै तहको सरकारले तत्काल विशेष कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

कार्यक्रममा मकवानपुर, काठमाडौं, चितवन, पर्सा, सिराहा र धनुषाका पालिकाहरु, एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसीएमसी), न्यायिक समिति, मेलमिलाप केन्द्र, जिल्ला बार एशोसिएसन, महिला अधिकार मञ्च, महिला सेल, सेफ हाउस, महिला÷पुरुष÷किशोरकिशोरी समूहको प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ तथा जनसंख्या मन्त्रालयको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखाकी उपसचिव रोशनी देवी कार्की, हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछाने, सम्मुनती परियोजनाको पर्सा जिल्ला कार्यक्रम संयोजक कोपिला चौलागाईंले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नगर स्तरीय महिला जागरण समूह, हेटौंडाकी अध्यक्ष तारा ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको तथ्यांक तथा आर्थिक महाशाखाका प्रमुख भिमप्रसाद तिमल्सिना, नगर स्तरीय महिला जागरण समूहकी सचिव निशा लामाले सहजिकरण गरेकी थिईन् । कार्यक्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामा, भिमफेदी गाउँपालिकाकी उपप्रमुख पार्वती राना, मनहरी गाउँपालिकाकी उपप्रमुख मनिला विष्ट, चितवनको कालिका नगरपालिकाकी उपप्रमुख कमला भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी