हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्र बंैक सरकारको सहयोगी नभएको आरोप लगाएका छन । मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभालाई शनिवार हेटौँडामा सम्बोधन गर्दै राष्ट्र बैंकको अर्थ नीति र गतिविधिले बैंकमा पैसा थुप्रेर बसेपनि लगानी हुननसकेको स्पष्ट पारे ।
ब्याज घटाउने र लगानीको मोडेल बनाउने कुरा राजनीतिक निर्णयमा भरपर्ने बताउँदै लगानी क्षेत्र सरकारले छुट्याइसकेपछि राष्ट्र बैंकले दायाबाया गर्दा समस्या उत्पन्न भएको मुख्यमन्त्रीको भनाई छ । “सरकारले बजेट भाषण गर्छ, अर्थविद्ले पेश गर्छ, अनि त्यो पास भईसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँछ, त्यो ठ्याक्कै क्रस गर्नेगरी विपरित हुन्छ”–मुख्यमन्त्रीले भने । उनले नीतिगत रुपमा धेरै कुरा सच्याउन पर्ने अवस्था रहेको जिकिर गर्दै बजेट आउनुपूर्व नै मौद्रिक नीति सार्वजनिक हुनुपर्नेमा जोड दिए ।
बागमती प्रदेश सरकारले उद्यमशील, घरेलु र कृषि क्षेत्रमा साना–साना काम गर्न सकेपनि ठुला उद्योग चलाउने क्षेत्राधिकार नभएको स्पष्ट पारे । हेटौँडा औद्योगिक क्षेत्र र मयुरधापको औद्योगिक क्षेत्र प्रदेश सरकारले चलाउनुपर्ने आवाज उठेपनि प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने उनले बताए । प्रदेशमा हस्तकला र घरेलु उद्योगलाई चाहिने काठ, ढंगा लगायतका सामाग्री निर्वाध ढंगले दिने नीति पास गरिसकेको बताउँदै घोषणाको तयारी गरिरहेको बताए । प्रदेशको विभिन्न स्थानमा उद्योगग्राम, कोशेलीघर बन्ने क्रममा रहेको बताउँदै प्रदेश सरकारको सक्रियतामा उद्यमशीलता तालिमहरु संचालन गरिरहेको बताए ।
लगानी र नीति बनाउनुपूर्व अध्ययन अनुसन्धान र बजारीकरणको अध्ययन नहुँदा स्थापना भएका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनले बताए । उनले उद्योग खोल्नुपूर्व त्यसलाई आवश्यक कच्चापदार्थको व्यवस्था र बजारको अध्ययन गरेर मात्रै उद्योग खोल्न व्यवसायीहरुलाई सुझाव दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मित्र राष्ट्रको भ्रमणबारे स्मरण गर्दै उहाँ राजनीतिक मुद्दामा भन्दापनि व्यापार व्यवसायको बिषयमा केन्द्रीत भएको र सम्झौंहरुपनि त्यही किसिमको भएको धारणा राखे ।
प्रदेश सरकारले समुदायमा आधारित ८५ पालिकालाई उत्पादनको पकेट क्षेत्र घोषण गर्ने तयारी गरेको जानकारी दिए । प्रदेशलाई खाद्यान्नको पकेट क्षेत्र घोषण पनि छिट्टै गरिने उनले बताए । उत्पादन र व्यवसायका् मोडेल बनाउने जिकिर गर्दै मुख्यमन्त्रीले त्यसको नेतृत्व प्रदेश सरकारले लिन तयार रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा (एमाले)का सचेतक एवं प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा आम जनतामा निराशा बढेको बताए । पछिल्लो समय राज्य कमजोर हुँदा विदेशीले पनि हेप्ने स्थिती आएको उनको ठम्याई छ । उद्योगी व्यवसायीको अनुहार उज्यालो भएमात्रै देशको पनि अनुहार उज्यालो हुने एमालेका सचेतक बर्तौंलाको भनाई छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले हेटौँडाको कपडा उद्योग सञ्चालनको बिषयमा बागमती प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पनि गराए । उनले पार्टी भन्दा माथि उठेर सोच्नुपर्ने बेला आएको बताउँदै मिसन ८१ म नेपाल र नेपाली बनाउनेगरी सबैले इमान्दारिपूर्वक काम गर्नुपर्नेमा जोड दिए । व्यापारघाट घटाउदै व्यवसाय र व्यवसायीलाई पनि जोगाउनुपर्ने दायित्व रहेको स्पष्ट पारे ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तान, नेपाल उद्योग वाणिज्य महासंघ, राजनैतिक दल,उद्योगी, व्यवसायी लगायतकाको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्