हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्रका सबै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले कर्मचारी परिचालन गरेर वडा नम्बर १ र ८ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिले पाउने गरेका छन् ।

गाउँमै भत्ता पाउन थालेपछि घरमै सरकार आएको अनुभव भएको मकवानपुरगढीका जेष्ठ नागरिक गोपाल लो को भनाइ छ । बैङ्कमा गएर भत्ता लिन लाइन बस्नुपर्ने बाध्यता पनि हटेको उनले बताए । भत्ता वितरणका लागि गाउँपालिकाका अध्ययक्ष दोर्जे लामा स्याङतान आफँै बस्तीमा पुगेका छन । उनका साथमा नविल बैङ्कका कर्मचारी पनि छन् ।

“सामाजिक सुरक्षा वापतको भत्ता गाउँगाउँमै पुगेर वितरण गरेका छौं, जेष्ठ नागरिक बैंक सम्म धाउनुपर्ने बाध्यता हटेको छ, हामी जनतालाई सेवा दिन लागिरहेका छौं,”–गाउँपालिका अध्यक्ष लामाले भने । पालिकाको विकट वडा नं. १ र ८ मा पुगेर घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

वडा नं. १ का वडाध्यक्ष आईत सिंह लो ले वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेर कार्यक्रमको थालनि गरे । भौगोलिक विकटताका कारण वृद्ध, वृद्धा र अशक्त सामाजिक सुरक्षा भत्ता लिन बैक सम्म जान समस्या भएपछि पालिका र वडाको सक्रियतामा गाउँगाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

वडाबाट बैंकमा भत्ता लिन पालिका सम्म आउन जान निकै कठिन र मोटरभाडा खर्चिलो हुने अवस्थामा गाउँगाउँमै भत्ता बुझ्न पाउँदा १ नं. वडाका पूर्व वडाध्यक्ष मान बहादुर घिसिङ्ग उत्साही भए । उनले “निर्वाचनका बेला भोट माग्न आउँदा वृद्धा भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला आफूलाई पट्कै विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिवद्धता अनुसार नै काम गरेकामा निकै खुशी लागेको छ, वडा वडाबाट भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो महसुस भएको छ,” घिसिङले भने ।

पहिलो चरणमा घुम्ती शिविर मार्फत २०३ लाभग्राही मध्ये १८३ जनाले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकासँग जोडिएको वडा भएपनि भौगोलिक विकटताका कारण दोश्रो किस्ता अन्र्तगतको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले जानकारी दिए । अन्य वडाका लाभग्राहीलाई नबिल बैंक मक्रान्चुली शाखा मार्फत सामाजिक सुरक्षा भत्ता धमाधम वितरण भईरहेको छ । चालु आर्थिक बर्षमा सबैवडा वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ । भत्ता वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका कर्मचारी मनोज देबकोटा, सचिब अर्जुन चौलागाई, बैकका कर्मचारी, प्रहरी लगाएतको उपस्थिति रहेको थियो ।