हेटौंडा । सोनाम ल्होसारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ल्होसारको अवसरमा यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने गाउँपालिकाले निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा यही माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन मनाइने सोनाम ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ समुदायलगायत नेपालीहरूमा शुभकामना व्यक्त गरिएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेकोले साँस्कृतिक पर्व मन्जुश्री संवत् २८६० डुक÷मु पुख्री (गरुड वर्ष) सोनाम ल्होसारको अवसरमा गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष मल्लले बताए । उनले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त राक्सिराङ गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरे ।