हेटौंडा । थाहा नगरपालिका वडा नं. ३ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत टनेल निर्माणका साथै मिनिटिलर र ईलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात वडाका किसानहरु खुसी भएका छन् ।

थाहा नगरपालिका वडा नं. ३ भोटखोरियाका कृषक नरेश कार्की टनेलमा तरकारी बालीको बिरुवा उत्पादन गर्न निकै सहज भएको बताए । कार्कीले खुल्ला ठाँउमा बिउ राख्दा उमारमा समस्या, उम्रेपनि जोगाउन हम्मे हम्मे हुने बताए ।

खुल्ला ठाँउमा तरकारी बालीको बिउ राख्न भन्दा टनेलमा निकै सहज हुने अर्का कृषक प्रदिप उप्रेतीले बताए । समयको बचतसंगै बिउको उमार र हुकाईका लागि टनेल निकै उपयोगी हुने उप्रेती बताए ।

तरकारीको बिरुवा उत्पादन गर्नका साथै १२ महिना नै तरकारी उत्पादन हुने भएकोले टनेल निकै प्रभावकारी हुने कृषक दिपक बिष्टले बताए । बिष्टले वडाका कृषकहरुलाई टनेल निर्माण लगायतका कृषि सामग्री सहयोग गरेकोमा वडा कार्यलय र जनप्रतिनिधिहरुलाई धन्यवाद दिए ।

वडा कार्यालयले ७२ बर्ग मिटरको टनेल निर्माणका लागि आवश्यक बाँस र प्लाष्टिक निशुल्क उपलब्ध गराएको छ भने कृषकले निर्माण र अन्य खर्च गर्नुपर्ने हुन्छ । एउटा टनेल निर्माणको लागि आवश्यक पर्ने २० वटा बाँस र टनेललाई प्लाष्टिक वडा कार्यालयले उपलब्ध गराउने वडा सदस्य सबिता सुनारले बताइन् ।

एक घर एक टनेल को अवधारणा अन्तरगत वडाका कृषकहरुलाई तरकारीको बिउ उत्पादनमा आत्मनिर्भर बनाउन टनेल निर्माणका लागि कृषकहरुलाई प्रोत्सहान गरिएको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताए ।

१ हजार ४६ घरधुरी रहेको वडा नं. ३ मा कृषकहरुको मागको आधारमा गत बर्ष ४५ वटा टनेल निर्माणको लागि वडा कार्यालयले सहयोग गरेको थियो भने यसवर्ष ९० वटा टनेल निर्माणको लागि सहयोग गरेको छ ।

वडाको मूख्य पेशा कृषि भएकोले कृषिमा युवाहरुलाई आकर्षित गरी ब्यवशायिक बनाउनको लागि टनेल निर्माणकालागि सहयोग गरिएको र आगामी बर्षमा समेत टनेल निर्माणका लागि सहयोग गरिने अध्यक्ष रायमाझीले बताए ।

कृषि पेशालाई प्रबिधिमैत्री बनाउन यस बर्ष कृषकको मागको आधारमा ५० प्रतिशत लागत साझेदारीमा ७३ वटा ईलेक्ट्रिक स्प्रेयर पम्प र २१ वटा मिनिटिलर पनि बितरण गरिएको अध्यक्ष रायमाझीले बताए ।

राज कुमार के.सी.
थप जानकारी