हेटौंडा । गजल मञ्च मकवानपुरले गजलकार अनिश न्यौपाने ‘भावना’लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान प्रदान गरेको छ ।

शनिबार गजल मञ्चको २११ औं गजल यात्राकाबीच गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित गजल सम्मान प्रदान गरेको हो । गजल विधानको उन्नयन, विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा गजलकार न्यौपानेलाई सम्मान गरिएको हो ।

मञ्चका अध्यक्ष केशव समर्पण, पुरस्कार संस्थापक भोला शिवाकोटी, प्रमुख अतिथि निमेष निखिल, विशिष्ट अतिथि तुलसी घिमिरेलगायतले न्यौपानेलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए । सम्मान पाएसँगै न्यौपानेले कार्यक्रममा आफ्ना तीन वटा गजल प्रस्तुत गरेका थिए ।

मकवानपुरमै अध्ययन र गजल कर्म गरेका न्यौपानेले २०७० मा ‘पढेपछि थाहा पाउँछौं’ गजल संग्रह प्रकाशन गरेका छन् । उनको ‘मनको आँखा’ गजल संग्रह पनि प्रकाशनमा छ । शिवाकोटीले आफ्ना बुबाआमा र छोरीको स्मृतिमा स्थापित गजल सम्मान पाउने न्यौपाने पहिलो गजलकार हुन् । मञ्चले अबदेखि हरेक वर्ष गजल सम्मान प्रदान गर्ने मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।