हेटौंडा । सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यका साथ पालिकाले गाउँटोलमै पुगी एकीकृत सेवा प्रदानगर्न सुरु गरेको छ । गाउँपालिकाले घरघरमै पुगी बिरामी जाँच, स्वास्थ्य, कृषि तथा अन्य सेवा सुरु गरेपछि गाउँबासी खुसी भएका छन् ।

एकीकृत शिविरमा ३ सय ११ जनाको सामान्य उपचार गरिएको थियो भने २२ जना गम्भीर बिरामीलाई विशेष उपचार गरिएको थियो । त्यस्तै ३ सय ६ जनालाई निशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखाले बताएको छ । त्यस्तै कृषितर्फ २९० जनालाई तरकारीको बिउ वितरण गरिएको थियो ।

त्यस्तै पशु सेवातर्फ २३० जनालाई घाँसको बिउ वितरण गरिएको थियो भने २५१ जना किसानलाई पशुपंक्षीका विभिन्न रोगविरुद्धका औषधि निशुल्क वितरण गरिएको थियो । शिविरमा ११ जनाको अपाङ्गता परीक्षणको लागि निवेदन संकलन गरिएको थियो भने ३ जना अपाङ्गलाई ह्वीलचियर र वैशाखी जस्ता सहायक सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । १० जना ज्येष्ठ नागरिकलाई घरघरमै पुगी फलफूल, पौष्टिक आहार सहित सम्मान समेत गरिएको थियो ।

‘सेवालिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गतआर्थिक वर्षदेखि सुरु गरेको गाउँपालिकाले गाउँटोलमै पुगीएकीकृत सेवा दिने कार्यक्रमलाई निरन्तरता दिएको हो । कार्यक्रमको निरन्तरताको क्रममा गाउँपालिकाले सोमबारबाट विभिन्न वडालाई समेटेर एकीकृत सेवा सुरु गरेको हो । गाउँपालिकाको १,२ र ३ नम्बर वडालाई समेटेर सोमबार राक्सिराङ–२ को कुँडुलेमा एकीकृत घुम्तीशिविरको आयोजना गरिएको हो ।

शिविरमा सहकारी जागरण कार्यक्रमअन्तर्गत सहकारी सेवा पहुँच र उपभोग प्रवद्र्धन कार्यक्रम, कृषि विकास कार्यक्रम अन्तर्गत मिनीट्रिलर, कम्वाइनमिल, टनेल प्लाष्टिक लगायत सामाग्री वितरण,पशु सेवाकार्यक्रम अन्तर्गत पशु औषधि तथा घाँसको बिउ वितरण कार्यक्रम, सामान्य स्वास्थ्य परीक्षण, निशुल्क औषधिवितरण र अपाङ्गता जाँच र परिचयपत्र वितरण कार्यक्रम गरिएको थियो ।

ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र निःशुल्क औषधिको समेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । अर्कोवर्षदेखि एकीकृत सेवाप्रदान कार्यक्रमलाई प्रत्येक वडामा पु¥याइने र अझ व्यवस्थित तरिकाले सेवाप्रदानगर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।

एकीकृत शिविर अन्तर्गत वैशाख १४ गते राक्सिराङ ६ को काँकडा स्वास्थ्यचौकी र श्री जुरेथुम प्राविमा कार्यक्रम निर्धारण गरिएको छ भने वैशाख १८ गते राक्सिराङ –४ को वडाकार्यालय र स्वास्थ्य संस्थाबाट सेवा दिइनेछ । त्यसैगरी वैशाख २१ गते राक्सिराङ–९ को कालिकामावि, अठारेलाई केन्द्र बनाई एकीकृत शिविर गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।