हेटौंडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सचिव र कर्मचारीहरुलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन्  । वन तथा वातावरण मन्त्रालयको तेश्रो त्रैमासिक प्रगती समिक्षा एवम् योजना तर्जुमा गोष्ठीलाई मङ्गलवार हेटौँडामा सम्बोधन गर्दै मन्त्री थपलियाले सेमिनार, गोष्ठी कम गर्न निर्देशन दिए ।

उनले लगानीको तुलनामा प्रतिफल आउनेगरी काम गर्न आग्रह गरे । जिम्मेवारी पाएका कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिर्दै मन्त्री थपलियाले मिटिङ, सेमिनार र गोष्ठीमा फजुल खर्च गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । वन मन्त्रालय अन्र्तगत ३७ प्रतिशत मात्रै प्रगति भएको जिकिर गर्दै प्रगति बढ्ने गरि काम गर्न उनले कर्मचारीलाई आग्रह गरे ।

बजेट निर्माणको समय नजिकिर्दै गरेको स्मरण गराउँदै बजेट निर्माण पुरानो शैलिमा नहुने स्पष्ट पारे । ‘देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको छ, अर्थतन्त्र जोगाउनेगरी काम गर्नुपर्छ, परिणाममुखी बजेटमा जानुको विकल्प छैन, हामी अब फेरिनुपर्छ’–मन्त्री थपलियाले भने । जङ्गलमा काठ कुहिएर बसेको स्मरण गराउँदै संघले प्रदेशलाइ अधिकार नदिदा कतिपय समस्या भोग्नुपरेको उनको भनाई छ ।