हेटौंडा । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाको वडा नं. १ लाइ चालु शैक्षिक सत्रदेखि निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू भएको वडा घोषणा गरिएको छ । एक कार्यक्रमका बिच वडालाइ अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन (नेपाली) ले सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिन । घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष पाख्रिनले आम वडाबासिलाई साक्षी राखेर यस्तो कार्यक्रमको घोषणा गर्न पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा बोल्दै पाख्रिनले वडाभित्र बसोवास गर्दै आएका विद्यालय जाने उमेरका कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेका पाइएकाले वडालाई अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताइन् ।

पाख्रिनले संविधानमा भएको व्यवस्था लागू गर्न नेपाल सरकारले सुरु गरेको अभियानमा स्थानीय तहले साथ दिएको बताइन् । साथ – साथै आजकै मिति देखि कुनै पनि विद्यालयहरूलाई कुनै पनि शीर्षकमा शुल्क नलिनको लागि पनि पाख्रिनले अनुरोध गरिन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गर्न लागिएको र पहिलो चरणमा वडा नं. १ बाट घोषणा कार्यक्रम सुरु गरिएको बताए । यो कार्यक्रम सबै वडामा बिस्तार गरिने छ । गरिब तथा विपन्न बर्गलाई लक्षित गर्दै आवासीय रुपमा नै विद्यार्थीहरूलाई पठन पाठनको लागि व्यवस्थापन गर्न लागेको र गाउँपालिका नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने उनले बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अभिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधा नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र नपाउने ऐनमा नै व्यवस्था भएको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए ।

निःशुल्क शिक्षा लागु भएको वडा घोषणा कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाई जेठ मसान्त भित्र मकवानपुरगढी गाउँपालिकालाई नै अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको गाउँपालिका घोषणा गर्ने तयारी गरिएको छ ।