हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारदेखि दुईदिने शैक्षिक सम्मेलन सुरु भएको छ । सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे ।
हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरिएको हो । जेठ १२ गतेसम्म चल्ने सम्मेलनमा देशभरका ६० भन्दा बढी सङ्ख्याका क्याम्पसका करिब तीनसय प्राध्यापक, अनुसन्धाताको सहभागिता रहेको छ ।
“उच्च शिक्षाका चुनौतीहरूः रोजगारी सिर्जना, दिगोपन र कक्षा छाड्ने दर घटाउने” भन्ने मूल आशयका साथ सम्मेलन आयोजना गरिएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिए । देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसका समस्या र चुनौतीका विषयमा छलफल गर्दै समस्या समाधान गरी उच्च शिक्षाको अनुकुल वातावरण निर्माण गर्नु सम्मेलनको उद्देश्य रहेको उनले बताए ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्राप्त क्याम्पसहरूलाई आयोगले नै आफ्ना समस्या पहिचान गर्न, समाधानका उपाय अवलम्बन गर्न र गुणस्तरीय उच्च शिक्षाको निरन्तर सुनिश्चितताका लागि सम्मेलन, गोष्ठी, प्राध्यापकको क्षमता अभिवृद्धि, क्याम्पसको भौतिक एवम् शैक्षिक सुधारका लागि सहयोग र सहकार्य गर्ने क्रममा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुबकुमार गौतम र विश्वविद्यालय अनुदान आयोगका सल्लाहकार तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति हृदयरत्न बज्राचार्य प्रमुख वक्ताको रुपमा रहेका छन । त्यस्तै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामासहित नेपाल फिलोसोफिकल रिसर्च सेन्टरका अध्यक्ष डा. तेज बहादुर कार्की, डा. दशरथ न्यौपाने, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ लामा, काठमाडौं मोडल कलेजका अनुसन्धान प्रमुख डा. निरञ्जन देवकोटा, पृथ्वी नारायण क्याम्पसका प्राध्यापक डा. मीन पुन, सौरभ लोहनी, विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक नारायण भण्डारी, डा.तारालाल श्रेष्ठ पनि प्रमुख वक्ताको रुपमा रहेको आयोजकले जानकारी दिएको छ ।
सम्मेलन आयोजनाका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, जिल्ला समन्वय समिति मकवानपुर, नेपाल फिलोसोफिकल रिसर्च सेन्टर, हेटौँडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघको सहयोग रहेको क्याम्पस प्रमुख डा. सिलवालले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्