हेटौंडा। चैत ७ गते बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) को पहिलो पटक परीक्षा केन्द्र निर्धारण गरिएको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटार स्थित कालिका मा वि परीक्षा केन्द्रको बुधबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल,वडा ९ का अध्यक्ष भुवन सिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, श्राेत शिक्षक ध्रुवराज बिष्ट , प्राविधिक सहायक दीपेन्द्र अधिकारी लगायतको टोलीले अनुगमन गरेका छन् । केन्द्रमा परीक्षा मर्यादित बनाउन र तयारी बारे बुझ्न अध्यक्ष सहित पालिकाको टोलीले अनुगमन गरेको हो।

कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थी र ग्रेडवृद्धिका लागि परीक्षामा ६७ जना विद्यार्थीले उक्त केन्द्रबाट परीक्षा दिँदै छन् । कालिका माविका विद्यार्थी बाहेक कैलाशबाट दुई सय १६ जना विद्यार्थीले एसईई परीक्षा दिन लागेका छन् ।

पालिकाभित्र अध्ययनरत विद्यार्थीहरु मनहरी, थाहा र हेटौंडा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष मुक्तानले बताएका छन् । भौगोलिक विकटता भएकाले परीक्षा र पठनपाठनमा असहज परिस्थिती विद्यार्थीमा रहेको थियो, सोहीलाई सहजता बनाउन केन्द्र कायम गरिएको अध्यक्ष मुक्तानले बताएका छन् ।

भौगोलिक विकटताले केन्द्र आउन जान असज हुनाले हामीले परीक्षा अवधिभर विद्यार्थीको लागि खाना र आवासको समेत व्यवस्था गरिएको बताउँदै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतको व्यवस्था गरिएका छौं, अध्यक्ष मुक्तानले भने । विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने छ ।

आवास क्षेत्रमा गाउँपालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाबाट एक÷एक जना कर्मचारी खटाइनुका साथै परीक्षा पश्चात पठनपाठनको वातावरण सिर्जना गर्न सोही अनुरुप व्यवस्था समेत गरिएको अध्यक्ष मुक्तानले बताए । परीक्षाभर विद्यार्थी र अभिभावकको गुनासो नआउने गरी कार्य गर्न सम्बन्धित शाखालाई निर्देशन समेत दिएका छन् ।

परीक्षामा कैलाशको कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जना रहेका छन् । यस्तै धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा दिने शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । कालिका माविका नियमिततर्फ ४५ र ग्रेडवृद्धितर्फ १० जना विद्यार्थी भने हेटौंडा ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिने जोशीले बताएका छन्।

मकवानपुरबाट एसईईमा सहभागी हुन नियमिततर्फ ५ हजार ८ सय ६५ जना विद्यार्थीले परीक्षा दिनेछन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय ९१ जना गरी ७ हजार ४ सय ५६ जना विद्यार्थीले परीक्षा दिनेछन् । पालिका अध्यक्ष सहितको टोलीले छात्रावासमा बसेर स्वअध्यन गरिरहेका विद्यार्थीहरूको बारेमा जानकारी लिएको थियो। पालिकाको समन्वयमा एसईई परीक्षार्थीलाई निशुल्क खाना सहित छात्रावासमा रहेर अध्ययनको व्यवस्था गरेकाे छ।