हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालका अध्यक्ष युवराज सुवेदी बीचमा आज (बुधबार) भेटवार्ता तथा छलफल भएको छ ।

भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराए । अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको छानविन, परिचयपत्र वितरण, सम्बन्धित ऐन नियम एवं नीतिमा भए बमोजिम उनीहरुका लागि प्रदान गरिनुपर्ने सुविधाका बारेमा चर्चा गरे । उनले बेपत्ता पारिएका व्यक्तिका विषयमा आयोगले संघ, प्रदेश तथा स्थानीय तहमा गरेको सिफारिस कार्यान्वयन गराउँन सहजीकरणका लागि प्रदेश प्रमुख शर्मालाई आग्रह पनि गरे ।

प्रदेश प्रमुख शर्माद्वारा आयोगले लामो समयदेखि गर्दै आइरहेको कामको प्रशंसा गर्दै खुशी व्यक्त गरे । उनले आयोगका सिफारिस कार्यान्वयनका लागि सम्बन्धित पक्षहरुसंग समन्वय तथा आवश्यक सहजीकरणका लागि आफू सदैव लागिपर्ने प्रतिबद्दता समेत व्यक्त गरे ।