काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड विपरीत कार्य गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स तथा चालकलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको जनस्वास्थ्य प्रशासक वन्दना भट्टले सूचना जारी गर्दै मापदण्ड विपरीत कार्य गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स तथा चालकलाई कानुनबमोजिम कारबाही गरिने जानकारी दिए।
एम्बुलेन्स सेवा निर्देशिका–२०८२ का प्रावधानहरू पालना नगरी आर्थिक लाभका लागि अन्य मापदण्डविपरीत कार्य गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स तथा चालकलाई कानुनबमोजिम कारबाही गरिने उनले सूचनामा स्पष्ट पारे ।
मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका–२०८२ अनुसार सम्पूर्ण एम्बुलेन्स सेवाहरू अनिवार्य रूपमा प्रेषण केन्द्रमार्फत सञ्चालन हुनुपर्ने व्यवस्था गरेको छ ।
तर, हाल केही एम्बुलेन्सहरूले उक्त निर्देशिका विपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा लैजाँदा आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा वा प्रेषण केन्द्रको निर्देशनबिना निजी तथा महँगा अस्पतालतर्फ लैजाने गरेको गुनासो प्राप्त भएको मन्त्रालयले यस्तो सूचना जारी गरेको हो।
“आपतकालीन अवस्थामा परेका बिरामी वा घाइतेलाई सहयोग गर्नुको सट्टा अवाञ्छित आर्थिक लाभ लिने यस्ता कार्यहरू दुःखद र निन्दनीय छ । यस सम्बन्धमा मन्त्रालयले सम्पूर्ण एम्बुलेन्स चालकहरूलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रूपमा लैजान अनुरोध गरिन्छ ।” सूचनामा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्