हेटौँडा । हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले अभिभावकलाई सामुदायिक विद्यालयमा बालबालिका ढुक्कसँग पढाउन आग्रह गरेका छन्। उनका अनुसार सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार, जनशक्ति र शैक्षिक प्रणाली व्यवस्थित भएकाले गुणस्तरमा कुनै सम्झौता नभएको दाबी गरिएको छ।

कर्रा टोल विकास संस्थाको ८ औँ साधारणसभाको उद्घाटन गर्दै सिग्देलले शिक्षा गुणस्तर सुधारका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले सामूहिक रूपमा काम गरिरहेको बताए। बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सुविधा सम्पन्न र गुणस्तरी शिक्षा उपलब्ध गराउन विद्यालय सक्षम रहेको उनको भनाइ थियो ।

उनका अनुसार विद्यालयमा आधुनिक ल्याब, स्तरीय बाल विकास केन्द्र, दक्ष र अनुभवी शिक्षक, व्यवहारिक शिक्षाका लागि अतिरिक्त क्रियाकलाप, तालिम, शिक्षक तथा विद्यार्थी सम्मान, प्रतियोगितामूलक रचनात्मक कार्यक्रम जस्ता तत्वले गुणस्तर वृद्धि गरिरहेको छ । वडा कार्यालयले पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको उनले बताए।

सिग्देलले संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धाबाट शिक्षाको गुणस्तर सुधारको लक्ष्य राखिएको उल्लेख गरे। हेटौँडा–४ भित्र भुटनदेवी मावि, आधुनिक मावि र श्रमिक मावि सामुदायिक विद्यालयका रूपमा सञ्चालनमा छन्।

यसै अवसरमा उनले वडाभित्रका मूल तथा भित्री सडकहरू २०८४ सालसम्म कच्ची र खाल्डाखुल्डीमुक्त बनाउने प्रतिबद्धता जनाए। आफू निर्वाचित भएपछि ८० प्रतिशत मूल सडक तथा ९० प्रतिशत भित्री सडक स्तरीकरण गरिएको दाबी पनि उनले प्रस्तुत गरे।

साधारणसभाले अजिव भट्टराईको अध्यक्षतामा र अर्जुन पोखरेल सचिव रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक केशव अर्यालले जानकारी दिए। आर्थिक तथा प्रगति प्रतिवेदन पारित गर्दै साधारणसभा संस्थाका अध्यक्ष चन्द्रकान्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।