हेटौँडा। चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–१, राम्चेमा दुई कोठे पक्की विद्यालय भवन निर्माण सुरु गरिएको छ ।

विन्देश्वरी आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा पुगेपछि नयाँ पक्की भवन निर्माणका लागि बुधबार शिलान्याश गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, वडाध्यक्ष, ईस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला अध्यक्ष बुद्धबीर लामा लगायतले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकुमार चेपाङका अनुसार २०५६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण भएपछि ईस्थर बेन्जामिन स्मृति संस्थाले २२ लाख लागतमा नयाँ भवन निर्माण गर्न लागेको हो ।

हाल ७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा पर्याप्त कक्षाकोठा अभावका कारण एउटै कोठामा विद्यार्थी राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक प्रेमबहादुर नेपालीले जानकारी दिए । विद्यार्थी करिब एक घण्टा टाढाबाट पैदल हिँडेर विद्यालय आउनुपर्ने अवस्था रहेको छ ।

भौगोलिक विकटताका कारण वर्षायाममा खोलानाला तर्न समस्या हुँदा विद्यार्थी नियमित रूपमा विद्यालय आउन नसक्ने अवस्था रहेको शिक्षक कान्छाराम चेपाङले बताए। विद्यालयमा सरकारले उपलब्ध गराएको दिवा खाजा अन्तर्गत चिउरा, दालमोट, जाउलो–तरकारी तथा शुक्रबार अण्डा वितरण गर्ने गरिएको छ ।

यस विद्यालयमा इन्द्रुङ, वाराङ, थुवुङ्ग र राम्चे क्षेत्रबाट विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । भौगोलिक विकटता, अशिक्षा र गरिबीका कारण यहाँका बासिन्दाको जीवनस्तर कमजोर रहेको छ । उक्त वडामा कुल ६०४ घरधुरी रहेका छन् । गाेरखापत्रबाट

अनिल पराजुली
थप जानकारी