हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा अध्ययन तथा अवलोकन भ्रमण गर्नेको संख्या बढ्दै गएको छ ।

शनिवार गोरखा जिल्लाको गोरखा नगरपालिका–७ स्थित ठूलो सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि तथा उपभोक्ता सम्मिलित टोलीले रानी सामुदायिक वनको अवलोकन गरेको हो । जिवराज थापाको नेतृत्वमा आएको ३१ सदस्यीय भ्रमण टोलीलाई समूहका पदाधिकारीले वन संरक्षण तथा व्यवस्थापनका विभिन्न गतिविधिबारे जानकारी गराएका थिए ।

समूहले अवलोकनका लागि आउने टोलीलाई सामुदायिक वन संरक्षण विधि, वन व्यवस्थापन, वनको सदुपयोग, उपभोक्ता परिचालन, पर्यापर्यटन, आयआर्जन, संस्थागत विकास, सामाजिक कार्य, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा गरिएका गतिविधिका साथै विपन्न वर्ग लक्षित कार्यक्रमबारे जानकारी दिने गरेको जनाएको छ ।

त्यसैगरी वृक्षारोपण, कार्यालय व्यवस्थापन तथा लोपोन्मुख सालक संरक्षण सम्बन्धी कार्यक्रमबारे समेत जानकारी गराइएको समूहले जनाएको छ । कार्यक्रममा समूहका अध्यक्ष केशव धिताल, कोषाध्यक्ष गोमा लामिछाने, सदस्य पूर्णभद्र चौलागाईं, लेखा संयोजक राजकुमार फुयाल तथा कार्यालय सचिव भीमसेन पौडेललगायतले सहजीकरण गरेका थिए ।

समूहका अनुसार हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५ सय ८१ वटा टोलीले रानी सामुदायिक वनको अवलोकन गरिसकेका छन् ।

वन संरक्षण तथा व्यवस्थापनमा सक्रिय भूमिका खेलेको उक्त सामुदायिक वनले २०५७ सालमा सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कारसहित विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ ।

लोपोन्मुख सालक संरक्षणमा विशेष काम गर्दै आएको समूहले सालकको बासस्थान संरक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको समूहका अध्यक्ष धितालले जानकारी दिए ।

भीमसेन पौडेल
थप जानकारी