हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राख्दै गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको हो।
बुधबार सम्पन्न गाउँपालिकाको १८औँ गाउँसभामा अध्यक्ष लोकबहादुर मुक्तानले वार्षिक नीति तथा कार्यक्रम एवं उपाध्यक्ष बालकुमार मल्लले बजेट प्रस्तुत गरे। गाउँसभाले नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा युवालाई लक्षित कार्यक्रमलाई निरन्तरता दिएको छ। विशेष गरी बालविवाह न्यूनीकरण तथा किशोरी शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘चेली प्रोत्साहन कार्यक्रम’लाई निरन्तरता दिइएको छ।
उपाध्यक्ष मल्लका अनुसार कुल बजेटमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड ८९ लाख रुपैयाँ, ससर्त अनुदान १९ करोड २५ लाख रुपैयाँ, राजस्व बाँडफाँट १० करोड ३ लाख ९१ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ५९ लाख रुपैयाँ तथा विशेष अनुदान १ करोड रुपैयाँ गरी ४२ करोड ७६ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी, बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण ८१ लाख ९८ हजार रुपैयाँ, ससर्त अनुदान १ करोड ३२ लाख ७९ हजार रुपैयाँ, राजस्व बाँडफाँट ३ करोड ८२ लाख ४४ हजार ९१० रुपैयाँ, समपूरक अनुदान २ करोड ८० लाख रुपैयाँ तथा विशेष अनुदान ७० लाख रुपैयाँ गरी कुल ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।
सामाजिक विकासमा सबैभन्दा बढी लगानी
बजेटमा सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। सामाजिक विकासतर्फ २४ करोड ८९ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको सबैभन्दा ठुलो हिस्सा हो।
पूर्वाधार विकासतर्फ १५ करोड ७० लाख रुपैयाँ, आर्थिक विकासतर्फ २ करोड २१ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ७५ लाख ५४ हजार रुपैयाँ, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ४३ लाख रुपैयाँ तथा प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता
अध्यक्ष मुक्तानले आगामी वर्ष ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिँदै सुरक्षित खानेपानीको पहुँच विस्तार गरिने बताए। पूर्ण सरसफाइउन्मुख पालिका घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।
गाउँपालिकाले कृषिलाई आधुनिक, व्यावसायिक तथा उत्पादनमुखी बनाउने लक्ष्य लिएको छ। रैथाने बालीको संरक्षण तथा विस्तार, बाँझो जमिनको उपयोग तथा कृषि उत्पादन वृद्धि गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ।
‘बाँझो जमिन नराखौँ, उत्पादन बढाऔँ’ अभियानमार्फत कृषकलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य सेवा विस्तार, ‘जिरो होम डेलिभरी’मा जोड
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले बिपी स्मृति कैलाश आधारभूत अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण तथा औषधिको व्यवस्थापन गरी आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाउने योजना अघि सारेको छ।
‘कैलाश बन्दै छ, बा–आमालाई सञ्चै छ’ अभियानलाई निरन्तरता दिइने भएको छ। साथै, मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि ‘जिरो होम डेलिभरी’ नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ। बक्यौता, पेस्की तथा बेरुजु फर्स्योटलाई प्राथमिकतामा राख्दै शून्य बेरुजुतर्फ उन्मुख हुने नीति लिइएको अध्यक्ष मुक्तानले बताए।












प्रतिक्रिया दिनुहोस्