हेटाैँडा । लगातारको वर्षासँगै मकवानपुरमा कान्ति लोकपथअन्तर्गत दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । रातिदेखि अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षा र ठुलो पहिरोका कारण यातायात सञ्चालनमा समस्या भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब १२:३० बजे बकैया गाउँपालिका– १२, ठिंगनस्थित कान्ति लोकपथ सडकखण्डमा सडकमाथिबाट ढुंगासहित ठुलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियाे । तर, अहिले यहाँ सडक खुलेकाे छ ।

यस्तै, भीमफेदी गाउँपालिका– ८ भर्‍याङडाँडास्थित कान्ति लोकपथ सडकखण्डमा पनि अर्को पहिरो खसेको छ । बकैया गाउँपालिका– १२, ठिंगनस्थित कान्ति लोकपथ सडकखण्डमा खसेको पहिरो हटाइएको भए पनि भीमफेदी– ८ भर्‍याङडाँडामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

मकवानपुर प्रहरीका अनुसार पहिरो खसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा पुगेको प्रहरी टोली सडक डिभिजन कार्यालयसँग समन्वय गरी बिहानबाट पहिरो हटाउने काम सुरु गरिएको थियो ।

बिहान साढे ६ बजे ठिंगनको पहिरो पन्छाइएको भए पनि भर्‍याङडाँडास्थित पहिरो पन्छाउन बाँकी रहेकाले कान्ति लोकपथ भएर कुनै पनि सवारी आवागमन नहुने प्रहरीले जनाएको छ ।

उक्त स्थानमा पनि पहिरो हटाउने काम जारी रहे पनि पहिरोको परिमाण ठुलो भएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। यहाँ अझै सिमसिमे वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम पनि रहेको छ।

कान्ति लोकपथ काठमाडौं र हेटौँडालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक राजमार्गमध्ये एक हो । सडक अवरुद्ध भएपछि यस मार्ग हुँदै यात्रा गर्ने सवारीसाधन बिचबाटोमै रोकिएका छन् भने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रहरीले वर्षायाममा पहिरोको जोखिम उच्च रहेकाले अत्यावश्यकबाहेकको यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।