हेटाैँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले कानुनी समयसीमाभन्दा १२ दिन ढिलो गरी आगामी आर्थिक वर्ष ०८३/८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था भए पनि राक्सिराङ गाउँपालिकाले सोमबार २०औँ गाउँ सभामार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो।

गाउँ सभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष वनस्थम थिङले ६५ करोड ३१ लाख ७९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरे।

बजेटको स्रोतमध्ये सबैभन्दा ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने अनुदानको छ। आगामी आर्थिक वर्षमा संघीय सरकारबाट ४६ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी, प्रदेश सरकारबाट ८ करोड ६९ लाख रुपैयाँ प्राप्त हुने आकलन तथा पालिकाको आन्तरिक स्रोतबाट ९ करोड ७० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

खर्चतर्फ चालू खर्चमा ३७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि २७ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ। कुल बजेटमा चालू खर्चको हिस्सा पुँजीगत खर्चभन्दा बढी रहेको देखिन्छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकताका क्षेत्रमा राखेको जनाएको छ। ग्रामीण भेगको आर्थिक गतिविधि, उत्पादन वृद्धि तथा आधारभूत सेवा विस्तारलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाको दाबी छ।

क्षेत्रगत रूपमा हेर्दा यातायात पूर्वाधारमा सबैभन्दा बढी ४ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ। विकट भूगोलका कारण सडक पहुँच विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको गाउँपालिकाको नीतिमा उल्लेख छ।

यसैगरी, पर्यटन पूर्वाधार निर्माणका लागि २ करोड २४ लाख रुपैयाँ छुट्याइएको छ। प्राकृतिक तथा धार्मिक पर्यटकीय सम्भावना रहेका क्षेत्रको संरक्षण, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटले कृषि उत्पादन वृद्धि, आधारभूत सेवा विस्तार तथा पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको विकास योजना अघि सारेको उपाध्यक्ष थिङले बताए।