हेटाैँडा । मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

​गत भदौ १० गते तिब्बत क्षेत्र हुँदै आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। विपद्को यस घडीमा स्थानीय सरकारको तर्फबाट मानवीय दायित्व निर्वाह गर्दै राहत रकम उपलब्ध गराउन लागिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए।

​”बाढीका कारण रसुवालगायतका क्षेत्रमा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको छ। यस्तो दुःखद् अवस्थामा कैलाश गाउँपालिका पीडित नागरिकको साथमा उभिएको छ,” अध्यक्ष मुक्तानले भने, “विपद्को सामना मिलेर गर्नुपर्ने भएकाले स्थानीय सरकारको तर्फबाट कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौं।”

​गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीका अनुसार निर्णय भएको ५ लाख रुपैयाँ एकमुष्ट रूपमा कोषमा दाखिला गरिनेछ। यसबाहेक गाउँपालिकाका कर्मचारीहरूको तर्फबाट समेत थप रकम संकलन गरेर राहतमा पठाइने तयारी भइरहेको उनले बताइन्।

​प्रभावित क्षेत्रमा कैलाश गाउँपालिकाका बासिन्दासमेत रहेको उल्लेख गर्दै गाउँपालिकाले उद्धार तथा राहत कार्यमा जुट्न सरकारी निकाय, सामाजिक संघसंस्था र आम नागरिकलाई अपिल गरेको छ।

​साथै, गाउँपालिकाले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।