हेटौँडा । मकवानपुरका दश स्थानीय तहमध्ये आर्थिक वर्ष २०८२-८३ मा स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवा प्रदान गर्ने मूल्याङ्कनमा थाहा नगरपालिका प्रथम भएको छ । मनहरी गाउँपालिका दोस्रो र बागमती गाउँपालिका तेस्रो भएका छन् । उत्कृष्ट पालिकालाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
स्वास्थ्यसम्बन्धी ४० वटा मुख्य सूचक पूरा गरेको तथा दुई दिनसम्म चलेको समीक्षा कार्यक्रममा स्थानीय तहले गरेको प्रस्तुतिका आधारमा प्राप्त अङ्कका आधारमा उत्कृष्ट पालिका छनोट गरिएको जनस्वास्थ्य अधिकृत घिमिरेले जानकारी दिए । त्यस्तै जनस्वास्थ्य कार्यालयमा कार्यरत सहायक कम्प्युटर अपरेटर अनु भुषाललाई उत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
उत्कृष्ट पालिका तथा कर्मचारीलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, स्वास्थ्य तालिम केन्द्रका निर्देशक दिपक प्रसाद तिवारी, जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठलगायतले पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए । समीक्षा कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जिल्लाका दशवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र प्रतिनिधिको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्