हेटौँडा। विजयादशमी तथा दीपावलीको अवसरमा आयोजित टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि रामनगर युवा क्लबले जितेको छ ।

चौघडा योङ ब्याइज हेटौँडा–६ को आयोजना, हेटौँडा उपमहानगरपालिका–६ नं. वडा कार्यालय, विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको आर्थिक सहयोग र नवजीवन ज्योति क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको फाइनलमा रामनगर युवा क्लबले वंशगोपाल युवा क्लब पुतलीबजारलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

रामनगरको जितमा सुरेश राई र विश्वास ढकालले एक–एक गोल गरे ।

प्रतियोगितामा रामनगर युवा क्लबका कप्तान अजित गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए । सर्वाधिक सात गोल गरेका सोही क्लबका सुरेश राई सर्वाधिक गोलकर्ता तथा राजेश राई उत्कृष्ट गोलकिपर घोषित भए । वंशगोपाल युवा क्लबका मनीष खड्का उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगिताको विजेता रामनगर युवा क्लबले ३० किलोको खसी, शिल्ड र मेडल प्राप्त गर्‍यो । उपविजेता वंशगोपाल युवा क्लबले २५ किलोको खसी, शिल्ड र मेडल प्राप्त गर्‍यो ।

विजेता तथा उपविजेता खेलाडीलाई हेटौँडा उपमहानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति महेन्द्रकुमार श्रेष्ठ, कार्यक्रम संयोजक अमन गोले, प्रहरी चौकी चौघडाका इन्चार्ज सूर्यबहादुर श्रेष्ठ, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष राजकुमार फुयाल, राष्ट्रिय खेलाडी सुरेश बानियाँ तथा सञ्चारकर्मी भीमसेन पौडेललगायतले प्रमाणपत्र, शिल्ड र मेडल वितरण गरे ।

प्रतियोगितामा आठवटा टोलका टोलीको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी