हेटौँडा । चाडपर्वसँगै हेटौँडाको चुच्चेखोलामा कुराउनी (खुवा) को बिक्री पाँच गुणासम्म बढेको छ ।  हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा पर्ने चुच्चेखोलाका एक दर्जनभन्दा बढी खुवा पसलमा दसैँको मौसम सुरु भएलगत्तै ग्राहकको चहलपहल बढेको हो । सामान्य समयमा दैनिक २० किलोसम्म खुवा बिक्री हुने गरेकामा चाडपर्वका बेला दैनिक सय किलोसम्म बिक्री भएको व्यवसायीले बताएका छन् ।

बिहान सबेरैदेखि बेलुका अबेरसम्म खुवा बनाइने भएकाले कान्ति लोकपथ हुँदै यात्रा गर्नेहरू यहाँका पसलमा रोकिने गरेका छन् । खुवा बनाएको प्रत्यक्ष देख्न पाउँदा यसको गुणस्तरप्रति विश्वास बढ्ने र स्वाद लिएर मात्रै गन्तव्यतर्फ लाग्ने गरेको स्थानीयवासी बताउँछन् ।

चुच्चेखोला खुवा बिक्री लागि परिचित क्षेत्र हो । कान्ति लोकपथ हुँदै काठमाडौँ आवतजावत गर्ने यात्रुले यहाँका पसलबाट खुवा किनेर आफन्तलाई कोसेलीका रूपमा लैजाने गरेका छन् । विशेष गरी चाडपर्वमा घरमा खान तथा आफन्तलाई दिन खुवा खरिद गर्ने ग्राहक बढ्ने गरेका छन् । काठमाडौँ, चितवन र मकवानपुरका विभिन्न स्थानमा चुच्चेखोलाको खुवाको माग रहेको व्यवसायीको भनाइ छ ।

चुच्चेखोलामा विगत २६ वर्षदेखि कृष्ण कन्हैया खुवा भण्डार सञ्चालन गर्दै आउनुभएका श्यामकुमार मानन्धरले दसैँका बेला करिब एक सातासम्म खुवाको व्यापार निकै बढेकोमा खुसी व्यक्त गरे । सामान्य अवस्थामा दैनिक करिब २० किलो खुवा उत्पादन गरी बिक्री गर्ने गरिएको उनले बताए ।

भक्तपुरको ठिमीबाट बुवासँगै २०३६ सालमा मकवानपुर आएका मानन्धरले सानो लगानीबाट खुवा व्यवसाय सुरु गरेका थिए । अहिले उनले आफ्नै घरमा दुई वटा खुवा पसल सञ्चालन गर्दै आएका छन् ।

कान्ति लोकपथ सञ्चालनमा आएपछि चुच्चेखोलाको लक्ष्मीनारायण खुवा बिक्री भण्डारको व्यापार पनि बढेको व्यवसायीले बताएका छन् । परिवारको व्यवसायमा सघाउन युरोपबाट फर्केका मदनकुमार तिमल्सिना अहिले खुवा व्यवसायमा संलग्न छन । चाडपर्वका समयमा खुवा तथा दुधबाट बनेका परिकारको बिक्री बढेकोमा उनी खुसी छन । चुच्चेखोलामा खुवा प्रतिकिलो सात सय रुपियाँ र पेडा प्रतिकिलो एक हजार रुपियाँमा बिक्री हुने गरेको छ । यहाँ उत्पादित गुँदपाक, पुष्टकारीलगायत मिठाईको पनि बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।

व्यवसायी कृष्णप्रसाद तिमल्सिनाका अनुसार चाडपर्व सुरु भएसँगै खुवा कोसेलीका रूपमा लैजाने ग्राहकको सङ्ख्या बढ्ने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा माग र आम्दानी दुवै बढ्ने उनले बताए । चुच्चेखोलामा खुवाको माग बढेसँगै नयाँ पसलसमेत खुल्न थालेका छन् । कान्ति लोकपथमा सवारी आवागमन नियमित हुँदा खुवा तथा अन्य मिठाईको व्यापार फस्टाउने गरेको व्यवसायीको भनाइ छ । गाेरखापत्रबाट