हेटाैँडा । सहिद तथा बेपत्ता योद्धाका परिवारलाई घर हस्तान्तरण गर्दै नेपाली कम्युनिस्ट पार्टी मकवानपुरले राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। पार्टी मकवानपुरले सहिद तथा बेपत्ता निरन्तर र अर्जुनको स्मृतिमा बागमती गाउँपालिका– ९, बेतिनीमा निर्माण गरेको घर आमा बर्तमाया रखाललाई हस्तान्तरण गर्दै अभियानको सुरुवात गरेको हो।
शुक्रबार आयोजित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तानले घरको साँचो बर्तमायालाई हस्तान्तरण गरिन्। सहिद परिवारलाई आवास उपलब्ध गराएर राष्ट्रिय जागरण अभियान सुरु गर्न पाउनु विशेष महत्त्वको विषय भएको बताउँदै उनले यसले अभियानलाई सकारात्मक ऊर्जा दिने धारणा राखिन्।
मोक्तानले सहिद तथा बेपत्ता योद्धाहरूको योगदानको सम्मान र उनीहरूका परिवारको संरक्षण पार्टीको जिम्मेवारी भएको स्पष्ट पारिन्। सहिद परिवारको जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले पार्टी सदस्यहरूको सामूहिक योगदानबाट घर निर्माण गरिएको उनको भनाइ थियो।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य विजय गौतमले सहिद परिवारको सम्मान र सहिदका सपना साकार पार्ने अभियानमा सिंगो पार्टीपंक्ति एकताबद्ध हुनुपर्ने बताए। सहिदका सपना र योगदानलाई व्यवहारमा रूपान्तरण गर्ने काममा पार्टीका सबै सदस्य लाग्न सके कम्युनिस्ट आन्दोलनको पुनरोदयलाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो। उनले राष्ट्रिय जागरण अभियानलाई पनि सहिदका सपना पूरा गर्ने अभियानसँग जोडेर अघि बढाउनुपर्ने बताए।
घर निर्माणका लागि मकवानपुरका करिब ११ हजार पार्टी सदस्यले एक महिनाको लेबीबराबरको रकम योगदान गर्नुका साथै श्रमदान गरेका थिए। पार्टीका शुभेच्छुक तथा सहयोगीहरूले पनि नगद र जिन्सी सामग्री सहयोग गरेको बागमती पार्टी संयोजक अरुण बलले जानकारी दिए।


















प्रतिक्रिया दिनुहोस्